माघ १३, काठमाडौं– प्रधानमन्त्री के.पी शर्मा ओलीले संगठित समुहले नागरिकको मानव अधिकार हनन् गरिरहेकाले त्यसप्रति चनाखो रहन मानव अधिकार आयोगलाई आग्रह गरे ।
आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले पछिल्लो समयमा संगठित दस्ताले असंगठित नागरिकलाई धम्क्याउने,लुट्ने र हत्या गर्ने क्रम पनि बढेकोले यसप्रति गम्भिर हुन आयोगको ध्यान आकर्षण गराए । प्रधानमन्त्री ओलीले भने – ‘संगठित गिरोहबाट असंगठित नागरिकका मानवअधिकार हनन् बढेका छन् । त्यसलाई रोक्नु पर्यो । ’
मानवअधिकार आयोगलाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले बिभिन्न घटनाहरु निष्पक्ष छानविनमा सरकार बाधक नहुने बताए । ‘गैह्र राज्य पक्षबाट असुरक्षा महसुस भए भन्नुस तपाँइहरुको सुरक्षामा सरकार गम्भिर छ’, उनले आयोग पनि राज्यकै अंग भएकोले यसले वस्तुनिष्ठ प्रतिवेदन बनाउनुपर्नेमा जोड दिए ।
आयोगका अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले मधेसमा जारी आन्दोलनले नागरिकको जनजीवन कष्टकर भएको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले ५१ बर्ष देखि आफू मानवअधिकार वहालीका लागि संघर्ष गर्दै आएकोले आफ्नो पालामा मानव अधिकार रक्षाको लागि गम्भिर रहेको बताए ।