हिमालका लागि मधेस र मधेसका लागि हिमाल चाहिन्छः पोखरेल

कात्तिक २०, विराटनगर – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हिमालका लागि मधेस र मधेसका लागि हिमाल नभई नहुने बताएका छन् ।
विराटनगरमा प्रेस चौतारीका केन्द्रीय सदस्य विक्रम लुइँटेललाई जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले राष्ट्रिय स्वाभिमान र संविधानको पक्षमा उभिनेहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने आजको राष्ट्रिय आवश्यकता रहेको बताए ।
उनले सङ्क्रमणकालको अवस्थामा मुलुकलाई कमजोर बनाउन खोजिएको र अवाञ्छित ढङ्गले अन्योल खडा गरी भ्रम सृजना गरिएकाले यस्तो समयमा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्ने विषयमा जोड दिए ।
संसारका मुलुकको तुलनामा नेपालमा नागरिकता वितरणको प्रावधान सबैभन्दा बढी उदार रहेको छ । उनले भने, “अङ्गीकृत नागरिकले संवैधानिक प्रमुखबाहेक अन्य प्रकारका सम्पूर्ण व्यवस्था पाउने र वैवाहिक अङ्गीकृत नागरिकता पनि सामान्य प्रक्रिया पूरा गरी प्राप्त गर्ने व्यवस्था रहेको छ ।”
राज्य सञ्चालनको हरेक अङ्गमा समानुपातिक, समावेशी, राज्यको प्रमुख दुई भाषालाई कामकाजी भाषाका रुपमा उल्लेख गरिएको भन्दै उहाँले जनसङ्ख्याकै आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनेछ तर भूगोललाई छोड्न नसकिने स्पष्ट पारे ।
प्रेस चौतारी नेपाल, मोरङ र मैनाली परिवारद्वारा संयुक्त रुपमा प्रदान गरिएको सम्मानपत्रसहित सो पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ । यसअघि यो पुरस्कारबाट ६ जना पत्रकार सम्मानित भइसकेका छन् ।