असोज ७ , काठमाडौँ – ४३ दिनदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको बन्दका कारण कपिलवस्तुकोे जनजीवन निकै कष्टकर बनेको छ । आन्दोलनरत दलले बन्दको विकल्प नदिंदा बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको अभाव हुंदै जाँदा जनजीवन कष्टकर बन्दै गएको हो ।
बन्दका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग चल्ने लामो तथा छोटो दुरीका सवारीका साधन प्रहरीले रातको समयमा स्कटिङ गरी चलाएपछि राजमार्गमा निर्वाध चलेका छन् । बन्दले फाटफुट मोटरसाइकलबाहेक जिल्ला भित्र चल्ने छोटो दुरीका कुनै पनि सवारीसाधन चलेका छैनन् । बन्दका कारण सबैभन्दा बढी कपिलवस्तुका मुख्य बजार कृष्णनगर, बहादुरगञ्ज, सदरमुकाम तौलीहवा, पकडीलगायतका क्षेत्रका बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्था विगत ४३ दिनदेखि बन्द छन् । लामो समयको बन्दले जनतालाई निकै कठिनाइ भएपछि आन्दोलनरत संयुक्त मधेशी मोर्चाबीच बन्द खुलाउने र नखुलाउने पक्षबीच विवाद बढेको छ ।
जसले गर्दा कृष्णनगर तौलीहवामा फाटफुट पसल खुल्न थालेको प्रहरीले जनाएको छ । उता संविधान निर्माण भएर घोषणासंगै अधिकांश कपिलवस्तुका स्थानमा दैनिकजसो विभिन्न तरीकाले संविधानको स्वागत र बिरोधका कार्यक्रमले निरन्तरता पाएका छन् ।