भाद्र १, काठमाडौँ – लगातार दुई सातादेखि जारी बन्दको प्रभाब आज विहानै देखि परेको छ । लगातार २ सातासम्म बन्द हुदाँ कञ्चनपुर, कैलाली लगायत सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको छ । थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएको थारु कल्याणकारिणी सभा र सुदूरपश्चिमको जातिय सद्भाव तथा एकता खल्वलाउन नहुने भन्दै खवरदारी गरिरहेको अखण्ड सुदूरपश्चिम आन्दोलन परिचालन समितिको दोहोरो बन्दका कारण जनजीवन प्रभावित बनेको हो । बन्दले गर्दा सुदूरपश्चिमका पहाडी जिल्लामा ग्यास तथा खाद्यान्नको अभाव भएको सिर्जना भएको छ भने तराईका जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ । बन्दका कारण कैलालीको जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । आज पनि कैलालीबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीका साधन छुट्न सकेका छैनन भने बजार, व्यवसाय, शिक्षण संस्था लगायत सबै बन्द रहेका छन् । कञ्चनपुरमा बन्दको प्रभाव सामान्य रहेको छ । आज विहानी सेवामा छुट्ने बसहरु महेन्द्रनगरबाट बाहिरिएको र दिउँसोसम्म बन्दको अवस्था हेरेर यातायातका साधन सञ्चालन गरिने यातायात व्यवसायीले जनाएका छन् । कञ्चनपुरका शिक्षण संस्था र बजार व्यवसाय आज पनि विहानैबाट सञ्चालनमा आएको छ ।
उता जुम्लामा पनि विशेष अधिकार सहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जिल्लामा चलेको आन्दोलनको आज दशौैं दिन पनि अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले दिउँसो आन्दोलन अझै चर्कने र दिनभर जुम्ला अशान्त हुने संकेत पाएपछि कर्फ्यूलाई निरन्तरता दिइएको बताउनुभयो । बिहानै देखि प्रहरीको गोली प्रहारबाट घाईतेका आफन्त र स्थानिय सडकमा उत्रिएर प्रहरी सामु लडेर देखाउने चुनौति दिएपछि प्रशासन कार्यालयले फेरी कर्फ्यू आदेश जारी गरेको हो । संघियताको खाकाप्रति असन्तुष्टी जनाउदै जुम्लामा जारी आन्दोलनमा साउन ३१ गते दिउसो प्रहरी र आन्दोलनकारी बिच भएको करीब तिन घण्टासम्मको लामो झडपपछि ३१ गते साँझ पाँच बजेपछि लगाइएको करफ्र्यु आज बिहान २ घण्टाको लागि खुलेको छ ।
यसैविच ६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै विभिन्न माग राखी आन्दोलनमा
उत्रिएका राजनीतिक दलहरुले आन्दोलन जारी रहेपनि झापाका शिक्षण संस्थाहरु
निर्वाध सञ्चालन गर्न दिने सहमति गरेका छन् । त्यसैगरी उद्योगी व्यवसायीको समस्यालाई समेत मध्यनजर गरी उद्योग व्यवसाय सञ्चालनको उचित वातावरण बनाउन पहल गर्ने समेत सहमति भएको छ ।