युरोपा लिग फुटबल प्रतियोगिताको उपाधी सेभिल्ला क्लबलाई

जेठ १४,काठमाडौं – युरोपा लिग फुटबल प्रतियोगिताको उपाधी सेभिल्ला क्लबले जितेको छ । बुधबार राती भएको फाइनल खेलमा निप्रो निप्रोपेट्रोभ्स्क लाई ३–२ ले पराजित गर्दै सेभिल्लाले चौथो पटक युरोप लिगको उपाधी जितेको हो । प्रतिष्पर्धात्मक भएको फाइनल खेलमा कोलम्वियन स्ट्राइकर कार्लोस वासाको उत्कृष्ट प्रदर्शनको मद्दतमा १–० ले पछिपरेको अवस्था उल्ट्याउदै सेभिल्लाले उपाधी आफ्नो पक्षमा पारेको हो ।

खेलको सातौं मिनेटमानै निकोला कालिनिकले गोल गर्दै निप्रोपेट्रोम्स्कलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २८ औ मिनेटमा ग्रेजग्रज क्राजवेक र ३१ औ मिनेटमा कार्लोस वासाले गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाए । तर पहिलो हाफ सकिन १ मिनेट बाँकी छदा निप्रोका रुस्लान रोटनले गोल गरेपछि पहिलो हाफमा खेल २–२ को बराबरीमा सकिएको थियो । तर दोश्रो हाफको २८ औ मिनेटमा वासाले ब्यक्तिगत दोश्रो तथा टोलीका लागि तेश्रो गोल गरेपछि सेभिल्ला ३–२ ले विजयी भयो । जितसँगै सेभिल्ला ४ पटक युरोपा लिग जित्ने पहिलो क्लब बनेको छ । सेभिल्ला भन्दा पछि लिभरपुल,इटरमिलान र युभेन्टसले समान ३–३ पटक युरोपा लिगको उपाधी जितेका छन् ।