वैशाख ९, काठमाण्डौ – सर्वोच्च अदालतले एमाओवादी स्थायी समिति सदस्य तथा पूर्व मन्त्री अग्नी सापकोटामाथि लागेका ज्यान मुद्दामा पुनः चासो देखाएको छ । सापकोटामाथि लागेको मुद्दामा जारी अनुसन्धान प्रगति १५ दिनभित्र अदालतमा बुझाउन काभ्रे प्रहरीलाई आदेश दिएको छ । ८ असार २०६२ मा काभ्रे छत्रेबास–५ का शिक्षक अजुर्न लामाको अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता गरी अनुसन्धान थाल्न दुई वर्ष अघि दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतले पुनः छानविन थाल्न या छानबिन नगर्ने भए सोको विवरण पठाउन आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले मंगलबार जारी गरेको आदेशमा सर्वोच्च अदालतले यसअघि दिएको आदेश अनुसार कार्य भएको नदेखिएको भन्दै अनुसन्धान जारी रहेको या बन्द गरिएको विवरण १५ दिनभित्र पेश गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेको नाममा आदेश जारी गरेको हो । सापकोटाको संलग्नतामा लामाको अपहरण गरी हत्या गरेको जिकिर गर्दै पत्नी पूर्णीमायाले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि अदालतले दर्ताको आदेश दिएको थियो ।