कपडा पसलमा आगो लाग्दा करोड बराबरको क्षति

वैशाख ७,झापा – झापाको भद्रपुरबजारमा आइतबार राती एक कपडा पसलमा आगो लाग्दा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । झापाको भद्रपुर–६ स्थित प्रदिप बस्त्रालयमा विद्युत चुहावट भई आगो लाग्दा उक्त मुल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । राती १० बजे लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा आएको थियो ।

भद्रपुर र मेचीगनरका दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, व्यापारी, स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
वस्त्रालयका सञ्चालक प्रदिप सरियाले प्रहरीलाई दिएको जानकारी अनुसार कपडा पसलबाटै विद्युत चुहावट भई आगो लागेको हो । उनले पसलमा रहेको सम्पूर्ण लत्ताकपडा र फर्निचर जलेर खरानी भएकाले लगभग एक करोडको क्षति भएको बताए ।
विगत दूई बर्ष अगाडि प्रदिप बस्त्रालयसँगै जोडिएको चारवटा पसल र दुई वटा घरमा विद्युत चुहावट भई आगो लाग्दा ५ करोड बढीको क्षति भएको थियो ।