चैत्र १८,काठमाडौ- अनशनरत वरिष्ठ डाक्टर गोविन्द केसीका मागबारे आज पनि वार्ता हुँदैछ । सरकारले तत्काल नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने बताएपनि भ्रष्ट पदाधिकारीलाई कारबाही गर्नुपर्ने लगायतका मागमा सहमति हुन नसकेको नेपाल रेजिडेन्ड एसोसिएनका सचिव नर्मन लामिछानेले बताउनुभयो ।
सरकारले सबै मुद्दाको सम्बोधन नगरेसम्म अनशन नतोड्ने डाक्टर केसीले अडान लिनु भएको छ । सरकारी टोलीले वार्ता सहमति नजिक पुगेको बताएपनि त्यसो नभएको सचिव लामिछानेले बताउनुभयो । सरकारी टोलीले आज सबै मुद्दामा सहमति गरेर अनशन तोडाउने बताएको छ भने डाक्टर केसीले प्रतिबद्धता पूरा गर्न सरकारी ठोस निर्णय नआउँदासम्म अनशन नतोड्ने बताउनु भएको छ । ११ औँ दिनदेखि अनशनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
यसैबीच नेपाल चिकित्सक सङ्घले सरकारले अनशनरत डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन नगरेको भन्दै आजदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प पारेका छन् । ४८ घन्टाभित्र पनि माग पूरा नगरे ओपीडी मात्र नभएर आकस्मिक सेवा पनि बन्द गरिने संघले चेतावनी दिएको छ । यसअघि डाक्टर केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै सङ्घको आह्वानमा डाक्टरले हातमा कालोपट्टी बाँधेर सेवा दिँदै आएका थिए ।
आवासीय चिकित्सक सङ्घले ४ दिनदेखि नै शिक्षण अस्पलतालको आकस्मिक सेवा बाहेक अ? सेवा बन्द गरिसकेका छन् । माग पूरा गर्न सरकारले ठोस निर्णय नगरे आकस्मिक सेवा पनि बन्द गर्ने शिक्षण अस्पतालका आवासीय चिकित्सकले चेतावनी दिएका छन् ।