- मधु शाही –
जीवन विक (२०) सामान्य चियापसलमा काम गर्ने दलित परिवारका थिए । झोंसेमा एउटै घरमा डेरा बस्ने संगीता पुलामी मगरसँग ट्युसन पढाउने क्रममा उनको प्रेम बसेछ । जातको डरले उनले खडका ‘थर’ भन्दै झुटो बोलेका रहेछन् । पछि थाहा पाएपछि संगीताले उनीमाथि विभेद गर्न थालिन् । विषय यहाँसम्म चर्किन थाल्यो कि एउटै चापाकलको पानी खाने दुई परिवारबीच हातपात नै बढ्न थाल्यो । आफ्नो जात हेपेको र बुबामाथि कुटपिट गरेको पीडामा जीवन दिनरात दुःखी रहेछन् । यही पीडामा उनले मानसिक औषधीसमेत खान पुगेछन् । आफूमाथि गरेको विभेद र अपमान खप्न नसकेपछि जीवनले आपराधिक धारणा बनाए ।
उनको मनमस्तिष्कमा लागेको त्यही घाउ नै पछि प्रतिशोधमा परिणत भयो । जसका कारण जीवनले संगीताको अनुहारमा तेजाव छर्केर कुरूप बनाउने आपराधिक क्रियाकलाप गर्न पुगे । जीवनले अपमानित भए पनि आपराधिक क्रियाकलाप गर्नु कानुनी रूपमा दण्डनीय हो । फलस्वरूप उनले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ । घटनाले भर्खरै एसएलसी दिँदै गरेकी एक युवतीको जीवन सधैं तनावमा अल्झायो भने यही समाजका एक होनहार युवाको भविष्य अन्धकारमा पुग्यो । अपराधीले सजाय पाउनु र पीडितले न्याय पाउनु मात्रै कानुनको मुख्य कर्तव्य हो । तर किन मान्छे अपराधी बन्छ ? आपराधिक क्रियाकलापमा संलग्न हुन कसले प्रेरित गर्छ ? यस्ता प्रश्नको जवाफ खोतल्ने हो भने जीवनको घटना एक उदारहण बन्न सक्छ ।
२१ औं शताब्दीको पुस्ता संक्रमणकालमा हुर्केको छ । बाबुबाजेको पालामा छुवाछूत र विभेद खेप्नेहरूले त्यसलाई सहज मान्दै आएका थिए । त्यही हाम्रो कर्म र संस्कृति हो भन्ने मान्यतामा हुर्किएका थिए । उनीहरू आफैं दबिन्थे, तर बोल्दैन थिए । प्रजातन्त्रको युग आयो । यसले सबैभन्दा पहिला मानवताको पक्षमा वकालत गर्छ । सबै समान हौं, हरेकको आत्मसम्मानमा ठेस पुराउनु पनि मानवीय अपराध हो भन्ने मान्यता छ । एकातिर आधुनिक समाजले विभेद गर्नु अपराध हो भन्ने पाठ पढाएको छ भने अर्कोतर्फ विभेद भोग्नु परिरहेको बाध्यता छ ।
जीवन यही चपेटामा परेका युवा थिए । उनी जस्ता थुप्रै दलित समुदायका युवायुवतीहरू मानवताको परिभाषा के हो भन्नेमै अल्झिरहेका छन् । पहिचान के हो ? कहाँ छ, अस्तित्व ? जस्ता समाजको जटिल सञ्जालमा खोज्नुपर्ने विडम्बना छ । जुन कथित उपल्लो जातिसरह उभ्याउन आफ्नै पहिचान गुमाएर थर लुकाउन बाध्य छन्, उनीहरू । यहाँसम्म कि कथित उपल्लो जातिका समुदायको थरसँग मेल खाए पनि ‘होइन’ भनेर अस्वीकार गर्ने परिपाटीसमेत हाम्रो समाजमा प्रशस्तै भेट्न सकिन्छ । मान्छे भएर आफ्नै थर, पहिचान खुलाउन नसक्ने विडम्बना दलित समुदायले भोग्दै आएको तीतो सत्य हो ।
थर लुकाउन वा थर परिवर्तन गर्नुपर्ने जीवनको दोष थिएन । उनलाई आफ्नै थरमा हीनताबोध सिर्जना गराउने समाजको दोष थियो । अझै पनि दलित समुदायले खुलेर ‘म यो जात हुँ’ भन्ने आँट गर्न सक्दैन । त्यहाँ थरकै कारण समाजले गर्ने थुप्रै विभेद छन् । जस्तै, सहरमा कोठाभाडा पाइँदैन, बजारमा दूध बिक्दैन । विभेदले आत्मसम्मानमाथि पुराएको पीडाका कारण जीवनले आपराधिक क्रियाकलाप गर्न बाध्य भएको देखिन्छ । यो समाजको अत्यन्त डरलाग्दो विषय हो ।
मान्छेको सबैभन्दा ठूलो आत्मसन्तुष्टि नै उसको आत्मसम्मान हो । कसैको अस्तित्व जस्तो छ, त्यस्तै स्वीकारिँदैन भने त्यहाँ पक्कै पनि शान्तिले बास गर्दैन । हाम्रो समाजमा यस्ता थुप्रै कुरीतिहरू छन्, जुन दिनहुँ कुनै न कुनै आपराधिक क्रियाकलाप गर्न बाध्य बनाइरहेको छ । कुसंस्कृति, गरिबी, अभाव, घृणा, अपमान यी पक्ष मान्छेलाई विचलित बनाउने मुख्य तत्त्व हुन् । यस्तो अवस्थामा मान्छेले मात्रै विनाश देखेको हुन्छ ।
दाइजो नल्याएको बहानामा जिउँदै चेलीहरू जलिरहेका छन् । देखिन्छ एउटा अपराधी तर चुरो कुरो सलाइ कोर्न उक्साउने त्यही समाज हो । बोक्सीको आरोपमा अमानवीय व्यवहार गरिन्छ, जसको प्रतिशोधले अपराध जन्मिन्छ । विभेदको कलंकका आडमा मान्छेलाई मान्छेको दर्जा दिइँदैन । यसले विद्रोही अपराधी जन्मिन्छ । अपराध जन्माउन समाजको पनि ठूलो हात छ । जीवन विकले सजाय पाउनुपर्छ, पाउँछन् । तर एउटा जीवनले दण्ड पाएर मात्र समस्या समाधान हुने होइन । उनी जस्ता हजारौं अपराधी जीवन नजन्माउन समाजले रूप बदल्नैपर्छ । साभार – ekantipur.com