फागुन १०,काठमाडौँ- नेपाल टेलिभिजन सञ्चालक समितिले महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई निलम्बन सिफारिस गरेको छ । फर्जी कागजात पेश गर्ने विज्ञापन एजेन्सीसँग करोडौंको कारोबार गरेको अभियोगमा बैठकले हुमागाईंलाई निलम्बन सिफारिस र आर्थिक प्रशासन महाशाखा प्रमुख राजनकुमार श्रेष्ठ र आय लेखा शाखा प्रमुख पवनकुमार मान्डव्यलाई निलम्बन गरेको हो । महाप्रबन्धकलाई भने मन्त्रालयले मात्रै निलम्बन गर्न मिल्ने भएकाले बोर्डले सिफारिसमात्रै गरेको हो ।
टेलिभिजनसँग उधारो कारोबारका लागि रु। ५ करोड ८६ लाखको नक्कली बैंक ग्यारेन्टी पेस गरेको आरोपमा प्रहरीले विज्ञापन व्यवसायी दिनेश श्रेष्ठलाई पक्राउ गरेलगत्तै टेलिभिजन सञ्चालक समितिले महाप्रबन्धकलाई कारबाही गरेको हो । श्रेष्ठ सञ्चालक रहेको वल्र्ड भिजन एडभर्टाइजिङ एण्ड वल्र्ड भिजन मिडिया बाईङ हाउस प्रालीले नक्कली कागजात पेस गरेको भेटिएको हो । टेलिभिजन सञ्चालक समितिका अध्यक्ष नीर शाहले संस्थानलाई आर्थिक नोक्सानी हुने गतिविधि भएकाले महाप्रवन्धक लगायतलाई निलम्बन गरिएको बताए ।