प्रजातन्त्र दिवसको अवसरमा आजका युवा समुहले गरे कुर्सि र्याली तथा सडक गोलमेच सम्मेलन

फागुन ७, काठमाडौँ – प्रजातन्त्र दिवसको अवसरमा आजका युवा समुहले विश्वमा विरलै देखिने र्याली अर्थात कुर्ची र्यालीको आयोजना गरेको छ । गत माघ ५ गते संविधानसभामा भएको तोडफोड र कुर्ची हानाहान जस्तो अर्मयादित कार्यको सांकेतिक विरोध गर्दै युवा समुहले प्रजातन्त्र दिवसको अवसर पारेर वार्ता र सहमतीका माध्यमबाट संविधान जारी गर्न माग गर्दै र्यालीको आयोजना गरेको युवा अभियन्ता घनश्याम श्रेष्ठले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रम निराशातिर अगाडी बढीरहेको भन्दै युवा समुहले बिहिबार बिहान ९ बजे देखि ११ बजे सम्म कुर्सि र्याली तथा सडक गोलमेच सम्मेलनको आयोजना गरेको हो ।

कार्यक्रममा भेटीएका अर्का अभियन्ता राजु श्रेष्ठले पछिल्लो समय संविधान बनाउने जिम्मेवारी बोकेका सभासदहरुले गैर जिम्मेवारीपूर्ण ढंगले कुर्सि बोकी तोडफोडमा उत्रिनु जस्तो इतिहाँसकै खराब कर्म गरेकाले कुर्ची र्याली मार्फत सांकेतिक विरोध गर्नुपरेको बताए । उनले भने घटना घट्नु आफैमा अपाच्य त थियो नै अझ त्यसमा घटनाको प्रतिवेदन सार्वजनिक गर्न समेत विभिन्न चलखेल भैरहेकोले त्यसको विरोध स्वरूप आफुहरुले यसरी दबाब मुलक कार्यक्रमको आयोजना गर्नुपरेको गुनासो गरे । श्रेष्ठले वार्ता र सहमतीबाट नै निकास निकाल्न अपिल गरेका छन् ।

भृकुटी मण्डपबाट सुरु भएको र्याली शहिद गेटमा नेताहरुको तमासा हेरीरहेका शहिदहरुकै अगाडी उभिएर चर्चा समेत गर्न भ्याए । सो अवसरमा युवा अभियन्ताहरुले शहीदले पुर्याएको योगदान र बलिदानको चर्चा गर्दै सम्पूर्ण शहिद आत्माको शान्तिको कामना गर्नुका साथै युवाहरु मिलेर यो देशको विकास र समाज परिवर्तनको लागि केहि न केहि योगदान गर्ने प्रण समेत गरे ।

उक्त र्याली एनएसी ,महांकाल,वीर अस्पताल,खुल्लामंच,रत्नपार्क,पुरानो बसपार्क हुँदै प्रदर्शनी मार्ग भृकुटी मण्डपमा नै पुगेर समापन भएको थियो । सो अभियानका अभियन्ता मध्येका अर्का घनश्याम श्रेष्ठले देशको संविधान बनाउने जस्तो अति गम्भीर,संवेदनशील र महत्वपूर्ण कार्यमा वृद्ध नेताहरुले गरेको ख्याल ठट्टा र हाँसखेलपूर्ण ढंगले सिर्जित उदासिन अवस्था को अन्त्य गर्न अब युवा सक्रियता र खबरदारी अति जरुरि भएको बताए । त्यस्तै अर्की अभियन्ता आशा राइले अब युवाहरु जाग्ने बेला आइसकेको बताइन् । उनले देशलाई अनिर्णयको बन्दीबाट मुक्ति दिलाई चौतर्फी विकासको बाटो खुलाउन युवा नै अन्तिम शक्ति भएको स्पष्ट पारिन् । अभियानमा करिब ३ सय युवा अभियन्ताको सहभागीता रहेको थियो ।