पुष ३०, काठमाडौं – पछिल्लो समय नेपालमा राजनीतिको मात्रै चर्चा भइरहेको छैन । नेपालको राष्ट्रिय खेलका विषयमा पनि बहस सुरु भएको छ । सामान्य ज्ञानका पुस्तकहरुमा राष्ट्रिय खेल कबड्डी र डन्डिबियो उल्लेख गर्ने गरिए पनि अहिले आएर त्यसको बिकल्प खोज्न थालीएको छ । आधिकारिक रुपमा घोषणा गर्न भने बल्ल सरकारले पनि गृहकार्य थालेको छ । खेलकुद मन्त्रालयले राष्ट्रिय खेल छनोट गर्न उपसचिव चूडामणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय राष्ट्रिय खेल छनोट तथा सिफारिस समिति गठन गरेको छ । समितिमा खेलकुद परिषद विद्यालय खेलकुद विभागका प्रमुख मदनजंग राण र मन्त्रालयकै खेलकुद हेर्ने उपसचिव रामबहादुर हमाल सदस्य छन् । मन्त्रालयले ७ पुसमा गठन गरेको समितिलाई एक महिनाभित्र विकल्पसहित राष्ट्रिय खेलबारे सुझाव पेस गर्ने कार्यादेश छ ।