सत्ता राजनीतिमा जातभात र भूगोलको भागबन्डामा लुछाचुँडी भइरहेको क्षणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन तयारी हुँदैछ। दूरदर्शी र राष्ट्रप्रेमी राजा पृथ्वीनारायणका उपदेश हरेक समय र सीमाका लागि कोसेढुंगा रहिरहेको सर्वत्र अनुभव गर्न थालिएको छ।
इतिहास नबुझेका अराजक तत्त्वहरूले पृथ्वीनारायणको सालिक तोडफोडका घटनालगायत अनेक लाञ्छना लगाउन पछि परेनन्। जब नेतृत्व वर्गले राष्ट्रियता बुझ्न थाले, पृथ्वीनारायण नै राष्ट्रिय नेता भएको अनुभवसमेत गर्न थाले। १७९९ सालमा गोरखाका राजा भएपछि उनी बृहत् नेपाल निर्माणमा अघि बढे।
राष्ट्र एकीकरणको अभियानमा तल्लीन उनको जीवन चरित्र कहिल्यै पनि एेश, आराम र विलासितामा बितेको देखिन्न। एकीकरण अभियानमा आन्तरिक तथा बाह्यरूपमा देशको परिस्थिति राम्ररी बुझेका उनको शासनकालको न्यायविधि, व्यापारनीति, रणकौशल, सैन्यनीति तथा राज्यले पालन गर्नुपर्ने कर्तव्यका विषयमा उनले जुन दिव्योपदेश दिएका थिए, त्यो अहिले पनि उत्तिकै सान्दर्भिक छ।
उपदेशमा निहित दैनिक जीवनका व्यावहारिक ज्ञानहरू अहिले पनि सान्दर्भिक छन्। ‘बूढा मरै भाषा सरै। तिमीहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र यो थामिराषुन्।’
यो दिव्योपदेश कुनै कालखण्ड र सीमित भूलोलका लागि मात्र पर्याप्त छैन। संस्कृति जहिले पनि हस्तान्तरण प्रक्रियामा जीवित रहन्छ। आफ्नो अस्तित्व सधैं बचाइराख्नुपर्छ भन्दै आफ्ना उत्तराधिकारीसमेत गलत ढंगले नचलून् भन्ने उनको आशय अहिले पनि सबै समाजका लागि उत्तिकै सान्दर्भिक छन्।
नेपालको राज्य पुनर्संरचना अहिले सबै दलको प्रमुख मुद्दा बनेको छ। यस्तो दिनको कल्पना पृथ्वीनारायणले सायद पहिल्यै गरेका थिए।
त्यसैले उनले तत्कालीन जातीय विभेद र छुवाछूतको उपल्लो स्थानमा रहेको नेपाली समाजमा पनि ब्रह्मण र क्षत्रिय जातिका बीचमा वैवाहिक सम्बन्ध कायम गराउन खोज्नुलाई अहिले एउटा सामाजिक आन्दोलनको रूपमा हेर्न सकिन्छ। उनको यो कदमलाई राज्य सञ्चालन र राष्ट्रिय एकतामा जातीय समीकरणको एकताका रूपमा पनि लिन सकिन्छ।
उनी राष्ट्रिय एकताका मेरुदण्ड थिए र प्राणभन्दा प्यारो राष्ट्रियता थियो। उनले एकएक राज्य एकीकरण गरेर विशाल नेपाल बनाएका थिए। त्यसैले भन्ने गर्थे, ‘मेरा साना दु:खले आज्र्याको मुलुक होइन, यो सबै जातको फूलबारी हो।’
अहिले पहाडी, मधेसी, चुच्चे, थेप्चे, खस, मंगोलियन, मगराती, लिम्बूवान, ज्यापू, पर्वते आदि विषयमा विखण्डित धारणाले व्यापकता पायो भने देशको अस्तित्व रहला? हाम्रो बल राष्ट्रिय एकतामा मात्र छ।
पराराष्ट्र नीतिमा त झन् पृथ्वीनारायणको दिव्योपदेश सधैं कोसेढुंगाकैरूपमा छ। अहिले नेपाल आधुनिकीकरण, सहरीकरणतिर बढिरहेको छ।
‘उप्रान्त यो राज्ये दुई ढुंगाको तरुल हो… भन्दै छिमेकी दुई ठूला देशसँग सदैव जोगिएर रहनुपर्छ र यी दुवै राज्यलाई सधैं सन्तुलनमा राखी वैरभाव होइन, मैत्रीभावमा अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ भन्ने दूरदर्शी विचार सधैं नेपाल देश रहुन्जेलका लागि उपयोगी छ।
त्यस्तै उनमा निहित सेनालाई ‘जाईकटक नगर्नू, झिकिकटक गर्नू…’ अर्थात् आफू सधैं सुरक्षित रहने कोसिस गर्नुपर्छ भन्ने भावले देशलाई वरिपरिबाट सुरक्षित पार्न खोजेको महसुस हुन्छ। उनको यो भावनाविपरीत जानाले नै बहादुर शाहको शासनकालमा तिब्बत र चीनसँग नेपालले युद्ध गर्नुपरेको थियो, जसमा नेपाललाई ठूलो नोक्सानी भएको थियो।
दिव्योपदेशको अर्को महत्त्वपूर्ण विशेषतामा कालु पाँडेलाई कजाई पद दिँदाको प्रसंगमा ‘दुनियाँ जसदेखि राजी हुन्छन्, उसैलाई कजाञी दिनू’ भन्ने धारणालाई वर्तमान परिप्रेक्ष्यमा हेर्दा यसमा प्रजातान्त्रिक तथा समाजवादी चिन्तन देखिन्छ।
अनावश्यक विदेशी आवतजावत र अनियन्त्रित पुँजीको प्रवेशप्रति उनी सधैं सशंकित रहेका थिए। यो नीतिलाई अहिलेको नेतृत्व वर्गले आत्मसात गरेको थियो भने आर्थिक जर्जरताले ठाउँ नै पाउने थिएन।
उनमा देश सधैं आत्मनिर्भर रहनुपर्छ भन्ने भाव थियो। त्यसैले दिव्योपदेशमा उद्योग तथा व्यापार क्षेत्रमा राष्ट्रभावको नीति प्रचुर मात्रामा पाइन्छ। ‘देशको कपडा लगाउनयालाई मन्हाई गरिदिनू, देशका कपडा बन्न जान्यालाई नमुना देखाई सघाउनू र बन्न लाउनू र यस्वभया नगत विदेश जाँदैन’ जस्ता उपदेश तथा नीतिका कारण पछिसम्म देश स्वावलम्बी बनेको थियो।
उनले घरेलु तथा कुटिर उद्योगलाई बढावा दिन यस्तो नीति बनाएका थिए, ‘आफ्ना देशका जिनिस जडीबुटी देश लैजानू र नगत पैचनु नगत पैची राख्नू, प्रजा मोटा भया दरबार बलियो हुन्छ’ जस्ता अवधारणा हेर्दा उनीभित्र राष्ट्रभक्तिको परम भावना देखिन्छ।
त्यस्तै व्यापारलाई राष्ट्रहितमा प्रयोग गर्दा मुलुक आत्मनिर्भर हुने स्पष्ट धारणा छ उनको। उनले त्यस समयमा पनि विदेशी पुँजीवादको नीति राम्ररी बुझेका थिए। अनावश्यक विदेशी आवतजावत र अनियन्त्रित पुँजीको प्रवेशप्रति उनी सधैं सशंकित रहेका थिए। यो नीतिलाई अहिलेको नेतृत्व वर्गले आत्मसात गरेको थियो भने आर्थिक जर्जरताले ठाउँ नै पाउने थिएन।
दिनहुँ हजारौं युवाले गरिबी र बेरोजगारको दर्दनाक स्थितिसँग जुध्न ज्यान जोखिममा पारी बिदेसिनुपर्ने थिएन। अहिले त देश परनिर्भर भइरहेको छ र भ्रष्टाचारको सिँढी चढिरहेको छ। पृथ्वीनारायणले त्यसबखत पनि ‘खानी भयाको ठाउँमा गाउँ भया, गाउँ अन्यत्र सारी खानी चलाउनू’ र गह्रौं बन्याको जग्गामा घर भया घर अन्यत्र सारी कुलो काटी षेत बनाई आवाद गर्नू’ जस्ता भनाइबाट उनी अनुभवी अभिभावक जस्ता देखिन्छन्।
देशका बल राजा र प्रजा दुवै हुन् भन्ने कुरा पृथ्वीनारायणले राम्ररी बुझेका थिए। उनको यो नीति पालना नर्गदा नै पछि राजेन्द्रविक्रम शाहको समयमा राणाशासनको उदय भयो। उनी सफल र सबल भएकैले आफ्नै भाइभारदार कसैले पनि विद्रोह गर्न सकेका थिएनन्। राज्य बलियो बन्नलाई सर्वप्रथम राजा आफैं दृढ र नैतिकवान् हुनुपर्छ।
उनको यो उपदेशविपरीत गएकाले नै यति छिटै नेपालबाट राजतन्त्रको अन्त्य भएको हो। उनी भन्ने गर्थे, ‘निञा निसाप विगान्र्या भन्याका घुस दिन्या र घुस खान्याइन दुईको धन जीव गरिलिया पनि पाप छैन यी राजाका महा सतुर हुन्’।उनको सर्वोपरि दिव्योपदेश अहिले पनि सान्दर्भिक छ। सामाजिक न्याय, जातीय समीकरण बचाइराख्ने र एकताको सूत्रमा बाँध्ने, न्यायलाई निष्पक्ष बनाउने, अनावश्यक विदेशी हस्तक्षेप रोक्ने, अवसरवादीसँग सधैं सतर्क रहने उनका कालजयी विचार आज पनि सामयिक छन्। साभार अन्नपुर्ण पोष्ट