फागुन, २७ काठमाडौं– ‘राम्रोसंग नेपाली बोल्न जान्दिन्, गाउँदा गलती भए क्षमा पाऊ ।’ हाम्रोनियम बजाउँदै हिन्दी भाषामा यति भनेपछि भारतीय गायक एवं संगीतकार पण्डित इन्दु प्रकाशले नेपाली गीत गाउन थाले । छेऊमा बसेकी उर्मीला महतले स्वरमा साथ दिएकी थिइन । भारतीय प्रसिद्ध गायक एवं संगीतकार पण्डित इन्दु प्रकाशले नेपालीमा पहिलो गजल संग्रह ‘तस्वीर’ ल्याएका छन् । एल्बममा उर्मीलाले पनि साथ दिएकी छन् । राजधानीमा सोमबार राष्ट्रकवि माधवप्रसाद घिमिरे र भारतीय राजदुत रञ्जीत रेले एल्बम सार्वजनिक गरे । आफ्नो शब्दमा पनि इन्दुले स्वर दिएको बताउदै, यसले दुई मुलुकको सिर्जना संयोजन भएको घिमिरेले बताए । रञ्जीतले चाहिँ मुलुक जोड्ने अर्को आधार संगीत नै रहेको वताए । इन्दुले ‘मनमा दियो.’, ‘नयनमा आँशु…’, ‘धुवाँ बनाइदियौं..’, ‘आधारतमा..’, ‘एक्लिएर…’, ‘तिम्रो मनका…’, ‘नबोलेरै धेरै कुरा…’, ‘किन तरेको आँखा…’, र ‘सपना…’ लगायत एल्बमका ९ गीत सुनाए । त्यस संगै हिन्दी गजल पनि गाए । इन्दुलाई उर्मिलाले साथ दिएकी थिइन् । ‘मनमा दियो…’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । राष्ट्र कवि माधव प्रसाद घिमिरे, रेशम विरही, वी.पी न्यौपाने, प्रभाकर पण्डित, राजुबाबु श्रेष्ठ, डा. भोला रिजाल र सुरेश अधिकारीको शब्द रहेको एल्बममा इन्दुको एकल संगीत रहेको छ ।