वैशाख ४, काठमाडौँ – ‘इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा)’ ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को सातौँ संस्करणको दुई विधामा मनोनयन गरिएको छ । यी दुवै मनोनयनमा गीतकार लोकराज अधिकारी परेका छन् ।
मनोनयनमा नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका हुुन् । यो मनोनयन आफ्नो मात्र नभई नेपालकै प्रतिनिधित्व भएको गीतकार अधिकारीले बताए ।
उनले भने, “म नेपालबाट एक्लो मनोनयनमा परेको छु, त्यसकारण मैले देशकै प्रतिनिधित्व गरेको महसुस भएको छ । उक्त अवार्डको सार्वजनिक मनोनयनमा अन्य देशसँगै नेपालको झन्डा देख्दा आफूले केही गरेको जस्तो महसुस भएको छ ।”
अधिकारी लगातार दोस्रो वर्ष नेपालबाट मनोनयनमा पर्नुभएको हो । उहाँले उक्त अवार्डमा अमेरिकाको २१ विधा र अन्तरराष्ट्रिय २१ विधाअन्तर्गत प्रतिस्पर्धा हुने जानकारी दिए । गीतकार विधामा उनिसँगै ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेका छन् । गीतकार अधिकारीले गत चैत २० देखि नै ‘इलेकट्रोनिक भोटिङ’ खुला भएको र वैशाख २० गतेसम्म भोट गर्न पाइने बताए ।
“प्राप्त मतका आधारमा आगामी वैशाख १९ गते उत्कृष्ट २० घोषणा हुनेछन् । म एउटा गीतमार्फत त्यहाँ प्रतिस्पर्धामा रहे पनि नेपालकै प्रतिनिधित्व गरिरहेको छु, त्यसैले सबैलाई भोट गर्न आग्रह गर्दछु । यस मनोनयनलाई मैले अन्तरराष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वका रूपमा लिएको छु”, उनले भने ।
गीतकार अधिकारीले एउटा ‘डिभाइस’ बाट दैनिक एकपटक भोट गर्न सकिने जानकारी दिए । उनि मनोनयनमा परेका गीत ‘जिन्दगानी के छ र’ मा सिडी अधिकारीले सङ्गीत र स्वर दिएको छभने यसको ‘म्युजिक भिडिओ’ लाई बबिता श्रेष्ठले निर्देशन गरेकी छन् ।
आगामी भदौ ८ गते अमेरिकास्थित एटलान्टामा सम्पन्न हुने उक्त अवार्डमा ‘इसा’ का सदस्य गीतकार मात्र प्रतिस्पर्धामा भाग लिन पाउँछन् । गीतकार अधिकारी उक्त संस्थामा तीन वर्षअगाडि सन् २०२२ मा सदस्य बन्नुभएको थियो । गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ लगायतका गीत लोकप्रिय छन् ।