बैशाख ११, सु्दुरपश्चिम – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्बीबहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार हुने खेलमा कोशी प्रदेशको फुटबल टोली अनुपस्थित भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।
कोशीको टोली अनुपस्थितभएसँगै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लब आन्तिम चारमा पुगेको छ । लुम्बिनीले अब फाइनलका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको फुटबल टोलीबीच हुनेछ ।
मधेस प्रदेशको नवजागृति क्लबलाई पराजित गरी सुदूरपश्चिम प्रदेश यसअघि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी मेडल पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र फेयर प्ले टोलीलाई जनही रु १५ हजार पुरस्कार दिइने आयोजक गौरीगङ्गा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले बताउनुभयो ।
समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको नाममा गौरीगङ्गा–११ स्पोर्टस क्लब र सुदूरपश्चिम खेलकुद परिषद्ले प्रतियोगिता सञ्चालन गरेको हो । यही फागुन १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न प्रदेशका फुटबल टोलीको सहभागिता रहेको छ ।