मंसिर १८, बनियानी – जिल्लाको शिवसताक्षी नगरपालिका–१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तम्बाहाङ्फेले संयुक्त रूपमा प्रवेशद्वारको उद्घाटन गरे।
नवनिर्मित प्रवेशद्वारमाथि पशुपतिनाथ, स्वयम्भुलगायत विभिन्न जनजातिका पहिचान झल्काउने आकृति राखेर बहुसांस्कृतिक रूपमा विकास गरिने योजना रहेको नगरप्रमुख थोप्राले बताए । पर्यटकीयस्थल दोमुखाको चौतर्फी विकासमा नगरपालिका योजनाबद्ध रूपमा लागेको उनको भनाइ छ ।
“चालु आर्थिक वर्षमा रु एक करोड लगानी गर्नेछौँ”, नगरप्रमुख थोप्राले भन्नुभयो, “सडकमा बत्ती, रात्रिकालीन पर्यटकलाई मनोरञ्जन दिने पूर्वाधार निर्माण गर्ने योजना छ ।” उनका अनुसार प्रवेशद्वारसँगै दोमुखाबाट वनभोजस्थल हुँदै स्वीमिङपुलसम्म जाने सात सय ३० मिटर सडकसमेत इन्टरलक ब्लक लगाउने काम सम्पन्न भएको छ ।
प्रवेशद्वार र सडक रु ८४ लाख ६१ हजार पाँच सय ५० मा भीमेश्वर कन्स्ट्रसन प्रालिले निर्माण गरेको हो । निर्माणाधीन उक्त सडक छ मिटर चौडा रहेका छ भने ६० एमएमको ब्लक लगाइएको छ ।
कार्यक्रममा नगर उपप्रमुख कार्कीले दोमुखा शिवसताक्षी नगरको गहना भएकाले यसको विकास र प्रवर्द्धनमा पालिका निरन्तर लागिरहेको बताइन् । नगर क्षेत्रमा रहेका तीन वटा पर्यटकीयस्थल दोमुखा, सतासीधाम र चिल्लागढले यस क्षेत्रको पहिचान बनाएको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्दै लैजाने उनले उल्लेख गरिन् ।
शिवसताक्षी–१० का वडाध्यक्ष हर्कबहादुर सिगुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुम्हाङ्फेले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन लेखा शाखा प्रमुख प्रकाश योङ्हाङले गरेका थिए ।