प्रथम सोल्मा यु–१७ फुटबलको उपाधि सोल्मा स्पोर्टस् क्लबलाई

कात्तिक ६, खोटाङ – प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगिताको उपाधि आयोजक सोल्मा स्पोर्टस् क्लब (निलो) ले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित क्लबको खेल मैदानमा सोमबार साँझ सम्पन्न फाइनल खेलमा दिक्तेल फुटबल क्लब दिक्तेललाई ३–० हराउँदै आयोजक निलोले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको नवौँ मिनेटमा सोल्मा निलोका खेलाडी प्रविण तामाङले गोल गर्दै अग्रता दिलाएका हुन् । दोस्रो हाफको २०औँ मिनेटमा सोल्मा निलोका गोलरक्षक पास्कल बस्नेतले पोष्टबाट हानेको बल गोलमा परिणत भएपछि अग्रता दोब्बर भएको थियो ।

दोस्रो हाफको ३३औँ मिनेटमा सोल्मा निलोका खेलाडी तिलक कार्कीले तेस्रो गोल गरेपछि जीत सुनिश्चित भएको हो । उपाधि विजेता आयोजकले रु २५ हजार नगद, कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद रु १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारसमेत वितरण गरिएको थियो । विभिन्न विधागत उपाधिअन्तर्गत सोल्मा निलोका खेलाडी तिलक कार्कीले बेष्ट प्लेयर, हाइ स्कोरमा प्रविण तामाङ, बेष्ट किपरमा पास्कल बस्नेत, बेष्ट डिफेण्डरमा दिलीप राई, बेष्ट मिडफिल्डरमा आशिष राई र बेष्ट कोचमा सनम राई घोषित भएका आयोजक सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिए ।

उनीहरूमध्ये बेष्ट प्लेयर कार्कीले नगद रु दुई हजार दुई सय २२, ट्रफी र प्रमाणपत्र तथा अन्य विद्याग पुरस्कार विजेताहरूले जनही नगद रु एक हजार एक सय ११ को साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । चाडबाडका बेला युवाहरूलाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै कुलतबाट जोगाउन फुटबल प्रतियोगिता आयोजना क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले बताए।

विजयी समूह तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राईले पुरस्कार वितरण गर्नुभएको थियो । यही कात्तिक २ गतेदेखि सुरु भएको प्रथम सोल्मा यु–१७ फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका आठ वटा क्लबका खेलाडी सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published.