मोरङ– एन्फाकप विजेता झापा–११ ले पथरीमा जारी फुटबल प्रतियोगितामा शनिबार काठमाडौंको चर्च ब्वाइज क्लबलाई हराउँदै मिफाइनल यात्रा तय गरेको छ। दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको क्वार्टरफाइनलमा झापाले चर्च ब्वाइजलाई शुन्यका विरुद्ध दुई गोलले हरायो।खेलको चौथो मिनेटमा झापाका गणेश खड्काले डि बक्स अगाडिबाट गरेको प्रहारलाई चर्चका गोलरक्षक किरण चेम्जोङले बचाएका थिए। लगतै चर्चका प्रकाश बुढाथोकीले गरेको प्रहार झापाका गोलरक्षक दिनेश थापाको टाउकोमा लागि बाहिरिएको थियो। ८ औं मिनेटमा २५ यार्ड नजिकबाट झापाका योगेश गुरुङले गरेको प्रहारलाई गोलरक्षकले पन्च गरी बचाए। चर्चका प्रकाश बुढाथोकीले १८ मिनेटमा गरेको शानदार प्रहार पोलको माथि लागेका थियो। लगतै १९ औं मिनेटमा चर्चका डिफेन्स निरज बस्नेतले झापाका कर्ण लिम्बुलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै लिम्बुले गोल गरी खाता खोलेका थिए।
३९ औं मिनेटमा चर्चका गोलरक्षक किरणले आफ्ना खेलाडीलाई डिबक्स नजिकबाट पास दिन खोज्दा झापाका योगेश गुरुङले खोसेको बललाई सदुपयोग गर्दै गोलमा परिणत गरी टिमलाई दुई गोलको अग्रता दिलाए।मध्यान्तरसम्म दुई गोलले पछि परेको चर्चका खेलाडीले धेरैपटक गोलको राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। ७३ औं मिनेटमा चर्चका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा, उसले थप दवाबको सामना गर्नु परेको थियो। चर्चका प्रकाश बुढाथोकीले गरेको पेनाल्टी सुटलाई झापाका गोलरक्षक दिनेश थापाले उत्कृष्ट बचाउ गरेका थिए। झापाको डिफेन्सका अगाडि चर्चका खेलाडी नचलेपछि पोस्टमा कमै आक्रमण गरेका थिए। अन्डर–१९ कप्तान बिमल घर्तीमगरले भने केही राम्रो प्रहार गरेका थिए।खेलको म्यान अफ द म्याच झापाका कर्ण लिम्बु घोषित भए। तीनवटा विभागीय टिमसहित नेपाल र भारतका १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख २ हजार २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी पाउने छन्।