गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन

असोज ७, गण्डकी – कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा सदस्यलगायत पाठक अध्ययनका लागि पुस्तकालय जान पाएका छैनन् । पुस्तकालयमा दुई सय दुई जना सदस्य रहे पनि अहिलेसम्म जम्मा आठ जनाले पुस्तक लेनदेन गरेको सचिवालयका कम्प्युटर अधिकृत चन्द्रकला बस्नेतले जानकारी दिइन् ।

उहाँका अनुसार पुस्तक घरमा लगेर पढ्नेमा दुई जना प्रदेशसभा सदस्य र केही मन्त्रीको सचिवालयका कर्मचारी छन् । पुस्तकालयका सदस्यले एक महिनासम्म घरमा लगेर पुस्तक पढ्न पाउने व्यवस्था छ । “एकपटकमा एउटा मात्र पुस्तक लैजान पाइन्छ, एक महिना पूरा भएपछि पुस्तकालयमा फिर्ता गर्नुपर्छ”, उनले भनिन् “कर्मचारी अभावका कारण पुस्तकालय सेवा प्रभावकारी बन्न सकेको छैन ।”

उनले पुस्तकालय व्यवस्थापन र सञ्चालनका लागि पुस्तकाध्यक्षको प्रबन्ध गर्नुपर्ने बताइन् । पुस्तकालय नियमित खोलेर बस्ने कर्मचारी नभएका कारण पुस्तकालय सधैँजसो बन्द रहने गरेको उनको भनाइ छ । पुस्तकालयमा कानुनलगायत विभिन्न विधाका गरी एक हजार छ सय ९८ पुस्तक छन् । महत्त्वपूर्ण स्रोत पुस्तक पनि पुस्तकालयमा सङ्ग्रहित छन् । कानुन निर्माणको जिम्मेवारी लिएका प्रदेशसभा सदस्यलाई लक्षित गरी स्थापना गरिएको उक्त पुस्तकालयबारे कतिपय प्रदेशसभा सदस्य नै अनविज्ञ रहेको पाइएको छ ।

पठन संस्कृतिको कमीका कारण पनि पुस्तकालयप्रति अरुचि बढेको हुनसक्ने प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बताए । उनले प्रदेशसभा सचिवालयले पुस्तकालयलाई आवश्यक पर्ने कर्मचारीको व्यवस्था मिलाउनुपर्ने बताए । “व्यवस्थित पुस्तकालय त बनेको छ, तर सदुपयोग हुनसकेको छैन”,

प्रदेशसभा सदस्य सुवेदीले आफूले विषयगत समितिको बैठकमा पुस्तकालयलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने विषय उठाउँदै आए पनि सचिवालयबाट सो कुरा कार्यान्वयन हुन नसकेको बताउनुभयो । करिब रु २० लाख खर्चेर बनाइएको उक्त पुस्तकालयमा विद्युतीय पुस्तकालय पनि रहेको छ ।

विद्युतीय पुस्तकालयप्रति पनि कसैले चासो नदिएको प्रदेशसभा सचिवालयले जनाएको छ । विसं २०७९ माघमा तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले उक्त पुस्तकालयको उद्घाटन गर्नुभएको थियो । प्रदेश स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसर पारेर प्रदेशसभा भवन परिसरमा पुस्तकालय स्थापना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.