सन्तानवती मिथिलानी जितीयाको पूर्वतयारी

असोज ६, महोत्तरी – पितृपक्ष सुरु भयो कि मधेसको मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु हुन्छ । महोत्तरीसहितका मधेसको मिथिला क्षेत्रका सन्तानवती आमाहरू अहिले जितियाको तयारीमा छन् । पितृपक्ष (सोह्रश्राद्ध) को अष्टमी तिथिका दिन गरिने यो व्रत यसपालि आउने मङ्गलबार परेको छ ।

असोज कृष्णपक्ष अर्थात् पितृपक्षको अष्टमी तिथिका दिन गरिने यो व्रत कमसेकम एक अहोरात्रको हुने चलन छ । अष्टमी तिथि टेकिएकै दिन गरिने यो व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमी एक घडी कटाएरमात्र समापन गरिन्छ । यसअनुसार यसपालि आउने मङ्गलबार साँझ ६ः०० अष्टमी तिथि लाग्ने हुँदा सोही दिन सन्तानवती मिथिलानीले व्रत गर्ने निधो गरेका छन् । कमसेकम एक अहोरात्रको व्रत विधानले सोमबार मध्यरातअघि ओगटन (दर) खाएका मिथिलानीले बुधबार साँझ ५ः४५ बजे नवमी तिथि लागेपछि व्रत समापन गर्नेछन् ।

यसपालिको व्रत अवधि झण्डै ४० घण्टाको हुने व्रतको तयारीमा रहेकी भङ्गाहा–४ रामनगरकी रसिया चौधरी थारू बताउछिन्। सन्तानको सौर्यवृद्धि र सद्गुणको कामनाका साथ गरिने यो पर्वका बर्तालु आमाले आफ्ना सन्तान परोपकारी र आपत्मा परेकाहरूलाई सघाउनसक्ने होउन् भन्ने इष्टदेवसँग पुकारा गर्छन् । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै सन्तानवती आमाहरू आफ्ना सन्तान सुयोग्य हुने कल्पना गर्छन् ।

जितिया व्रत छोराका लागि बस्ने केही वर्ष पहिलेको मिथिलाको चलन अब परिष्कृत हुँदै गएको छ । अब बर्तालु आमाले यो व्रत आफ्ना सन्तानका लागि गरिएको बताउन थालेपछि छोरीहरूले पनि सन्तान हुनुको गर्वानुभूति गर्न थालेका महिला नेतृ मञ्जु यादव बताउछिन् ।

छोराका लागि व्रत भनिँदा छोरीहरूप्रति विभेद भएको कुरा मधेसमा महिला अधिकारकर्मीहरूले सघन रूपमा उठाएपछि अचेल सन्तानका लागि व्रत गरिएको भन्ने चलन चलेको सम्सीको गेढाभेटपुरकी अगुवा महिला रेखा झाकोे भनाइ छ । मधेसका मिथिला क्षेत्रका थारू बाहुल्य बस्तीमा यो पर्वको बढी चर्चा हुनेगर्छ । मिथिलाका सबै जाति समुदायमा पर्वको चलन भए पनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ । थारू बस्तीमा जितियाका लागि घर रङरोगन र लिपपोत पितृपक्ष सुरु हुनासाथै गरिन थालिन्छ । झुरुमुट्ट घरैघर देखिने थारू बस्तीमा सबै जितीया केन्द्रित सरसफाइ र अन्य तयारीमा लागेपछि यहाँ यो पर्वको रौनक केही दिन पहिले नै देखिन्छ ।

देवदूत मानिने जितवाहनको आराधना गरिने यो पर्व निष्ठा र सन्तानप्रतिको समर्पणभावको प्रतीक मानिन्छ । व्रतको अभिष्ठ नै उपकारी सन्तान हुन् भन्ने हुँदा धन, वैभव र सुखसयलका कुरा यो पर्वमा आमाहरूले सोच्दैनन् । ‘सबदिस स तोहर बेटाबेटी बड सज्ञान अई कहल सुन पाबी’ (सबैतिरबाट तिम्रा सन्तान ज्ञानी छन् भनेको सुन्न पाऊँ) व्रतको तयारीमा रहेकी बर्दिबास–९ पशुपतिनगरकी शैल महतो भन्छिन्, “हमर बेटा÷बेटी ककरो धारबिगार नई करोक, भगवान् जितवाहन’क आशिर्वाद स हमर सन्तानसब सत्यपर चलवाला आ उपकारी बनौक’ (मेरा छोराछोरीले कसैको बिगार नगरुन्, भगवान् जितवाहनको कृपाले मेरा सन्तान सत्यको पक्षमा हिँड्ने र उपकारी बनुन्) ।

पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ (दर) खाएर अष्टमी तिथिमा व्रत गरिन्छ । अष्टमी सकिएर नवमी लागेपछि एक घडि कटाएर व्रत समापनको परम्परा छ । छोड्दो अष्टमीका दिन अहोरात्र व्रत बसिने यो पर्वको ‘ओगटन’ अष्टमी तिथि सुरु हुन एक घडि पूर्व नै खाइसक्नु पर्ने व्रत विधान रहेको बर्तालु बताउँछन् । यद्यपि व्रत सरल बनाउन नयाँ पिँढीका आमाहरूले व्रतको दिन सूर्योदय हुन एक घडी (साढे दुई घण्टा) अघि ओगटन खान सकिने बताउन थालेका छन् । यसरी व्रत लिनेका लागि पनि ३६ घण्टाको व्रत हुने देखिन्छ ।

जितिया पर्वको ‘ओगटन’मा दही, चिउरा खाने चलन छ । यस चलनले अहिले मिथिलाका बस्ती–बस्तीमा जितियाकै लागि शुद्ध दूधको जोहोमा व्रतको तयारीमा रहेका आमाहरू लगेका छन् । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नहोउञ्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ ।

मिथिलामा यो पर्व सबै आमाले निष्ठापूर्वक मनाउँछन् । “सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै शारीरिक तन्दुरुस्ती र सामाजिक इज्जत प्राप्त हुने जनविश्वास छ”, मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झा भन्छन् “समाजमा कुनै लुरे वा डरछेरुवा देखिए यसका लागि आमाले जितिया व्रत गरिनछन् भन्ने टिप्पणी जोसुकैले गर्छन् ।” मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्ता बुझ्न सकिने झाको थप भनाइ छ ।

पर्वका बर्तालुले दिवङ्गत मातृवंश ९आमा, सासू, फूपू, दिदी, जेठानी÷देउरानी आदि०लाई तृप्त गर्न तर्पण दिन्छन् । दिवङ्गत मातृवंशलाई तर्पण दिँदै आफ्ना सन्तानसँगको नाता खुलाएर उसको कल्याण गर भन्ने कामना हुन्छ । पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । बर्तालुुले त्यहीँ नै तीन पुस्ताभित्रका दिवङ्गत मातृवंश ( दिवङ्गत आमा, बज्यै, सासू, जेठानी, बूढीसासू, नन्द–आमाजु, जेठानी, देउरानी आदि) लाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरूको भनाइ छ । ती सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजीवी बन्ने आशीर्वाद देऊ’ भन्ने कामना गरिन्छ ।

व्रत अवधिमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको पाका मैथिल बताउँछन् । राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा उल्लेख छ । यसकारण यो पर्वको थालनी भविष्यपुराणकै रचनाकाल द्वापरयुगमा सुुरु भएको मानिने गरिएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउछन् ।