मौलिक कला, संस्कृति, पहिचान र राष्ट्रिय–एकताको संरक्षण गर्न माग

भदौ ९, काठमाडौ – नेपाल नीति अध्ययन केन्द्रले वैदिक सनातन धर्मलाई क्षति पु(याउने गरी नेपालीका मौलिक कला, संस्कृति, पहिचान र राष्ट्रिय–एकतालाई खण्डित गर्न अवाञ्छित गतिविधि भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

केन्द्रका अध्यक्ष महारथी प्यारजङ्ग थापा र महासचिव डा राजु चित्रकारले आज जारी गरेको प्रेस–विज्ञप्तिमा वसुधैव कुटुम्बकम्को उच्च आदर्श बोकेको मौलिक संस्कृतिको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ । देशको बौद्धिक समाज राष्ट्रको यस्तो अवस्थाप्रति चिन्तित देखिएको र युवाहरु सुरक्षित भविष्यको खोजीमा विदेश पलायन हुन बाध्य भएकाले नेपालको भविष्य असुरक्षित दिशातर्फ अघि बढ्नु गम्भीर चिन्ताको विषय रहेको विज्ञप्तिमा उल्लेख छ ।

सबै नेपालीले देशको उज्ज्वल भविष्यका लागि संवेदनशील भएर सोच्ने बेला आएको जनाउँदै केन्द्रले यसप्रति चिन्तन गर्न सरोकार भएका सबैमा आह्वान गरेको छ ।