आठ सय २७ हेक्टरमा सिँचाइ सुविधा विस्तार


साउन १८, भद्रपुर – झापामा आठ सय २७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा एक सय ३० हेक्टरमा सुविधा विस्तार तथा छ सय ९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शैलेश पोखरेलका अनुसार साना–ठूला गरी एक सय ३२ आयोजना सम्पन्न भएसँगै सिँचाइ सुविधा विस्तार भएको हो । “गत आवमा कार्यालयको पुँजीगतर्फ विनियोजित रकम रु ३१ करोड ८९ लाख ४८ हजारमध्ये रु २९ करोड आठ लाख ३८ हजार चार सय ७४ खर्च भएको छ । चालुतर्फ पनि विनियोजित बजेटको ९२ दशमलव ७ प्रतिशत खर्च भयो । गत वर्ष कोशी प्रदेश सरकार सञ्चालनमा विवाद हुँदा बजेट ढिलागरी प्राप्त भएकाले आयोजना सञ्चालनमा ढिलाइ भएको प्रमुख पोखरेलले बताए ।

यसैगरी उक्त कार्यालयले नदी व्यवस्थापनतर्फ सात हजार एक सय नौ मिटर सम्पन्न गरी एक हजार छ सय ८४ हेक्टर जमिन संरक्षण र ६० हेक्टर जमिन उकास गरेको छ । यी योजना सम्पन्न भएसँगै दुई हजार छ सय चार परिवार लाभान्वित भएका डिभिजन प्रमुख पोखरेलले बताए ।

बहुवर्षीय योजनाहरू मेचीनगर–८ मा सञ्चालित निन्दाखोला सिँचाइ योजना, मेचीनगर–७ मा पालिया पूर्व सिँचाइ योजना र गौरीगञ्जमा सञ्चलित तल्लो किस्ने सिँचाइ योजना अन्तिम चरणमा रहेका उक्त कार्यालयले जनाएको छ । यी योजना सम्पन्न भएसँगै दुई हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ ।