असोज २६, काठमाडौ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तरराष्ट्रिय विपद् न्यूनीकरण दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मानवीय कारणले धेरै समस्या सृजना भएको र मानवसिर्जित घटना बढिरहेकाले त्यसलाई घटाउन समाजका सबै वर्गको सामूहिक प्रयास अपरिहार्य भएको बताए । विपद् व्यवस्थापनलाई सरकारले विशेष ध्यान दिएको उनले बताए।
प्राकृतिक विपत्तिका बेला अपाङ्गता भएका व्यक्तिहरु जोखिममा पर्ने भएकाले उनीहरुलाई त्यसबाट जोगाउने सामुदायिक स्तरमा काम हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए। “सूचनाको माध्यमबाट प्रभावित परिवारलाई जोगाउनु पहिलो जिम्मेवारी हो । त्यसका लागि आवश्यक नीतिनिर्माण र प्रणालीको विकास गर्न जरुरी छ”, मन्त्री श्रेष्ठले भने ।