फैलिदैं लम्पी स्कीन, जुम्लामा मरे तीन सय ६५ पशु

साउन १७, जुम्ला – जुम्लाका आठवटै पालिकामा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन् ।

पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले बताएको छ ।

जिल्लाका पालिकामा करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । अहिले कार्यालयमा प्रदेशबाट थप औषधि आएकाले पालिकालाई लिन परिपत्र गरिएको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।

सङ्क्रमणबाट पशुहरु धमाधम बिरामी हुन थालेको तिला गाउँपालिका–१ स्थानीयवासी नौसेर रावतले जानकारी दिनुभयो । जुम्लालगायत कर्णालीमा लम्पी स्किनबाट आठ हजार सात सय ९३ पशुचौपायाको मृत्यु भएको छ । दुई लाख १७ हजार एक सय ३४ पशुचौपाया रोगबाट सङ्क्रमित भएको कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

लम्पी स्किनबाट विशेष गरी दैलेख, जाजरकोट, जुम्ला, हुम्लालगायत जिल्ला बढी प्रभावित छन् । पशुचौपायाको सङ्क्रमण र मृत्युबाट कर्णालीमा १७ करोड ५३ लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको जनाइएको छ ।