साउन १०, काठमाडौं -नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन नगर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २ गते देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आज(बुधबार) कांग्रेसले निर्णय सुनाउँदै पार्टीले लिने निर्णयका विषयमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा कांग्रेसले खाँणलाई निलम्बन नगर्ने निष्कर्ष निकालेको हो ।
त्यसप्रति महामन्त्री गगनकुमार थापाले असन्तुष्टि जनाएका छन् । थापाले त्यसमा आफ्नो फरकमत रहने जनाउँदै पार्टीका कुनै सदस्यले फरकमत लेख्न चाहे दिनुपर्ने प्रस्ताव गरेका छन् ।
त्यस विषयमा कांग्रेस पदाधिकारी बैठक सहमतिमा पुगिसकेको छैन । दिउँसो ४ बजेका लागि केन्द्रीय कार्यालयमा बोलाइएको बैठकमा त्यसअघि सभापति शेरबहादुर देउवासहितका नेताहरू फेरि छलफलमा जुट्ने छन् । त्यसपछि मात्र केन्द्रीय समितिको बैठक सुरु हुने नेताहरूले जनाएका छन् ।
कांग्रेसको जारी केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति र स्थान तय गर्नेछ । साथै, केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिका तर्फबाट महामन्त्री थापाले पेस गरेको प्रस्तावलाई संशोधनसहित पारित गर्ने भएको छ ।
आज बस्ने बैठकले पार्टीको निर्णय गर्दै एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति सकिने छ ।