नारायणगढ–मुग्लिन सडक खण्डसहित आठ वटा सडक पहिरोका कारण बन्द

साउन ९, काठमाडौं – नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको हो ।

बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

पहिरो पन्छाउने काम भैरहेको तर निरन्तर पानी परिरहेकाले समस्या भएको छ । थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पन्छाइसक्न समय लाग्ने प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए। सडक विभागका अनुसार अहिले देशभरका अरु ७ वटा सडक बन्द छन् ।

तमोर करिडोरको पाँचथरमा चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक बन्द छ । त्यस्तै, भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर दारबोटको प्युठान खण्ड पनि अवरुद्ध रहेको छ । यस्तै, बुटवल–पाल्पा, राम्दी–रामपुर, गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

गुल्मीको कालीगण्डकी करिडोर र रुद्रवेणी–वामीटक्सार सडक पनि बन्द भएको छ । रुद्रवेणी–वामीटक्सार सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरेमा खोलाको बहाव बढेपछि गएरातिदेखि यो सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै, पहिरो खसेर कालीगण्डकी करिडोर सडक पनि बन्द छ । यो सडक खण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिकाको हर्मिचौर र अर्बेनीको बीच भागमा सडक माथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाका अनुसार सडक खुलाउन स्थानीय बासिन्दाले प्रयास गरे पनि लगातार परेको पानीले समस्या भएको छ ।

अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन र लामो तथा छोटो दूरीको यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आग्रह गर्नुभएको छ । वर्षाका कारण धेरैजसो ग्रामीण सडक पनि बन्द भएका छन् ।