साउन ८, काठमाडौं – नेपाली कांग्रेसको एक सता देखि जारी केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज धारणा राख्ने छन् ।
साउन २ गते देखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी संगठन सुधारसहितका विभिन्न दश एजेन्डाहरू प्रस्तुत भएका छन् । केन्द्रीय कार्यालयको तर्फबाट महामन्त्री थापाले २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्म एक वर्षे कार्यक्रम समेटेर वार्षिक क्यालेन्डरसहितका एजेन्डाहरू पेस गरेका छन् ।
बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान गठबन्धनका विषयमा पनि पार्टी धारणा बाहिर ल्याउने छ । दाहाल नेतृत्व सरकारका विषयमा कांग्रेसका केही नेताहरूले प्रश्न उठाउँदै आएका छन् ।
बैठकमा प्रदेश सभापतिहरूले संघीयताको मर्म र भावना अनुसार केन्द्रीय नेताहरू चल्न नसकेको भन्दै गुनासो गरेका छन् ।
साथै, महामन्त्री थापाद्वारा प्रस्तुत कार्यक्रममा प्रदेश संरचनालाई नसमेटेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।