योग शारीरिक अभ्यास मात्र नभई जीवनशैलीको निश्चित विधि र प्रक्रिया होः प्रधानमन्त्री प्रचण्ड

असार ६, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल योग भूमि र यो धरोहर भएको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका तीन सभ्यताहरू शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए।

प्रधानमन्त्री प्रचण्डले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताए । नेपालका सांस्कृतिक इतिहासअनुसार यहाँका पुराना भवन र शहर निर्माणमा पनि योगको ज्ञान, विज्ञान र वास्तु इन्जिनियरिङको प्रयोग गरिएको उनले बताए।

तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।