चैत २, पोखरा – पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो । विसं २०२९ फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ ।
अस्पतालले यो अवधिसम्म ३१ हजार बढीको आँखाको सफल शल्यक्रिया गरिसकेको छ । सोही कारण पनि आँखा उपचारमा अब्बल सावित भएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित अस्पताल गत फागुन १७ गतेदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । अहिलेसम्म अस्पतालबाट अहिलेसम्म ३१ हजार सात सय ४२ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले जानकारी दिए ।
सोही अवधिमा २१ लाख ६१ हजार पाँच सय ५७ जनाको आँखा परीक्षण गरेको डाइरेक्टर डा श्रेष्ठले बताए । “यो अवधिमा विद्यालय आँखा जाँच कार्यक्रममा तीन लाख ९८ हजार सात सय २७ को आँखा जाँच गरिएको छ”, उनले भने, “११ हजार तीन सय उनले जानकारी दिए ।
अस्पतालले उत्कृष्ट सेवा दिन थालेपछि यस क्षेत्रका बिरामीको आँखाको उपचार पोखरामा मै सम्भव भएको नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले बताए। जसले गर्दा समय र पैसाको बचत भएको अध्यक्ष गुरुङले बताए । आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ । “अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ”, अध्यक्ष गुरुङ भन्छन् ।
पछिल्ला समय अस्पतालमा नयाँ सुविधा बढेकाले पनि बिरामी सङ्ख्या बढेको छ । पुरानो सेवाबाहेक आँखाको रेटिनाको शल्यक्रिया, कन्ट्याक्ट लेन्स सुविधा, भिजन थेरापी नयाँ प्रविधि ल्याएपछि अस्पतालमा झनै बिरामीको सङ्ख्या बढेको डा श्रेष्ठले बताए। अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको डा श्रेष्ठको दाबी छ ।
आगामी दिनमा नयाँ भवन बनाउने योजना रहेको डा श्रेष्ठले सुनाए । “३० वर्ष अघि एक सय ५० जनालाई लक्षित गरी बनाइएको हो । अहिले त दैनिक छ सयभन्दा बढी बिरामी आउँछन्”, डा श्रेष्ठले भने, “हावाहुरी र पानी पर्दा बिरामीलाई साह्रै समस्या हुन्छ । त्यसैले नयाँ भवन बनाउने कि भनेर सोचिरहेका छौँ ।”
पोखरा पर्यटकीय क्षेत्र भएकाले आगामी दिनमा मेडिकल टुरिजमको अवधारणालाई अघि बढाउने योजना रहेको डा श्रेष्ठले बताउनुभयो । क्यान्सरको जटिल शल्यक्रिया, नाक, कान, घाँटी र नसासँग सम्बन्धित शल्यक्रिया र चश्मा लगाउन नपर्ने री हुने लेजर सर्जरीबाहेक अन्य सेवा अस्पतालबाट दिइरहेको उनको भनाइ थियो ।
हालसम्म कर्णाली र गण्डकीमा गरी २७ ठाउँमा आँखा उपचार केन्द्र छन् । तत्कालीन गण्डकी, धौलागिरि र कर्णाली अञ्चलमा यी सेवा केन्द्र रहेको अस्पतालका व्यवस्थापक कुमार गर्बुजाले जानकारी दिए। अस्पतालमा बेल्जियम, नेदरल्यान्ड, बेलायत, अस्ट्रेलियालगायत देशबाट बर्सेनि २५ जनाको हाराहारीमा इन्टनसिप गर्न आउने गरेका छन् । उनीहरुले नेपालीमा देखिएको आँखाको समस्या र यहाँ अपनाइएको उपचार विधिबारे सिकेर फर्कछन् । हिमालय आँखा अस्पतालका लागि किनिएको ७० रोपनी जग्गामा हाल २६ वटा भवन छन् । गण्डकी प्रदेश सरकारले समेत अस्पताललाई आर्थिक सहयोग गरेको छ ।
आँखा उपचारमा अब्बल दरिएको हिमालय आँखा अस्पतालले पछिल्लो समयमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरेको छ । सिटिइभिटीसँगको सहकार्यमा निकै सस्तो शुल्कमा आँखासम्बन्धी पढाइ हुँदै आएको र पछिल्ला दिनमा विद्यार्थीको रुचि पनि असाध्यै देखिएको व्यवस्थापक गर्बुजाले बताए।
तीन वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्समा ४० जनाले पढ्दै आएको उनले जानकारी दिए । पोखरा विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित चार वर्षे ब्याचलर अफ अप्टोमेट्रीमा १६ जना र दुई वर्षे मास्टर्स अफ अप्टोमेट्रीमा छ जना विद्यार्थी अध्ययरत छन् ।