माघ २०, बुटवल – बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बुटवल उपमहानगर र रेडक्रस सोसाइटीबीच आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविर सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए ।
उहाँले समझदारीपछि बुटवलका बासिन्दाले रुपन्देहीका कुनै पनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नु नपर्ने व्यवस्था भएको र यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने बताए। समझदारीपछि बुटवल र रक्तसञ्चार केन्द्रका बीचमा थप सिर्जनशील काम गर्नका लागि सहज वातावरण तयार भएको प्रमुख प्रसासकीय अधिकृत टेकराज पन्थीले बताए।
बुटवल र रक्तसञ्चार केन्द्रबीचको समझदारीलगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने र सहज हुने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।