माघ ३, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुखको चुनाव नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, सभामुख कसलाई बनाउने र कुन पार्टीले पाउने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । बिहिबार हुने सभामुखको चुनावका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय सर्वदलीय बैठकपछि मात्रै लिनुपर्ने बताएका छन् । गएको पुस १० गतेको समझदारीअनुसार राष्ट्रपति पाउनेमा एमाले निश्चित भए पनि देउवा राष्ट्रपति पद कांग्रेसमा आउनेमा आशावादी छन् । सोही पृष्ठभूमि बनाउन कांग्रेसले पुष २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो ।
अघिल्लो संसदीय चुनावमा सहकार्य र पार्टी एकीकरण गरे पनि तिक्त सम्बन्धले अलग भएका दाहाल र ओलीको पुनर्मिलन भए पनि विश्वासको वातावरण बन्न सकेको छैन । सोमबार ओलीसँग लामो छलफल गरेका प्रचण्डले विश्वासको मत दिने सबै पार्टीलाई सरकारमा समेट्न खोजेका छन् । यसले एमालेमा शंसय उत्पन्न भएको छ । मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पनि रहेको छ ।