पुस २४, काठमाडौं –तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ क्षेत्रको भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई स्थानीय कला र संस्कृतिको झलक देखाउन संस्कृतिक समूह तयार गरिएको छ । यस्ता समूहले पाहुनालाई स्थानीय परिकारका स्वाद तथा नाच दुबै पस्किने छन्
होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका जिल्ला सचिव फुर्पुसिङ्गी तामाङका अनुसार पाहुनालाई समूहले गतलाङको रायोसाग, मुला, सिमी, फर्सी, आलु, सिस्नुजस्ता सागसब्जीको तरकारी अनि मकै, कोदो, फापर, जौँको पिठोबाट तयार परिकार तयार गर्नेछन् । साथै तामाङ संस्कृति पाहुनामाझ देखाउने छन् । यसका देखाउन १० देखि २० जना समूहमा नाचटोली तयार गरिएको उनले बत ।
आगन्तुक पाहुनाको बासस्थानका लागि ११ घरबास (होमस्टे)रहेको र घुमाउनका लागि स्थानीयस्तरमा पथप्रर्दशकसमेत तयार गरिएको बताइएको छ । समुद्र सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा अवस्थित गतलाङ गाउँमा शतप्रतिशत तामाङ समुदायको बसोबास रहेको र पर्यटन प्रवद्र्धनका लागि जिल्लास्तरको अनुरोध एवं समन्वयबाट विसं २०५७ मा तत्कालीन ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआर पिएपी)ले तामाङ सम्पदामार्ग घोषणा गरेको थियो ।
स्याफ्रुबेँसीबाटै गतलाङ, चिलिमे, थुमन, टिमुरे खैदी, वृद्विम हुँदै लाङ्टाङसम्म तामाङ सम्पदामार्ग नामकरण गरेपश्चात त्यस क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थालेको जिल्ला समन्वय समितिले जनाएको छ ।
विदेशी पर्यटक देख्न मुस्किल पर्ने तामाङ सम्पदामार्गको गतलाङ क्षेत्रमा सो कार्यक्रमले प्रचार–प्रसारमा सहजीकरण गर्दै बासका लागि पहिलो चरणमा ‘कक्युनिटी लज’ निर्माण गर्नुका साथै होमस्टे विस्तार, लोकल चिजवस्तु उपभोग गर्ने सीप ज्ञानको तौरतरिकामा जागरण ल्याएको थियो । यसपछि गतलाङमा पर्यटक बास बस्न थालेका पर्यटन व्यवसायी बताउँछन् ।
उक्त कार्यक्रम जिल्लामा ल्याउन पहल गर्नतत्कालीन जिल्ला विकास समितिका सभापति भीमलाल हिराचन, टिआरपिएपी कार्यक्रमका संयोजक रविजङ्ग पाण्डे र स्थलगतरूपमा कामको जागरण गराउने संयोजक एवं हाल पर्यटन एशोसिएशन अफ टानका कार्यकारी निर्देशक रामचन्द्र सेढाईँलाई यसको श्रेय जाने गतलाङका बासिन्दाले बताएका छन् ।
गोल्जुङ, गतलाङ हुँदै तातोपानी, नाकथली, थुमन र बृद्विम क्षेत्रमा पर्यटक जान थालेपछि होमस्टेको खाना तथा लजबाट आय हुने रकमले बालबालिकालाई कलम, कापी किन्न, नुनतेल, लत्ताकपडा खरिद एवं जीविकोपार्जनमा सरलता आएको पर्यटन सङ्घका जिल्ला सचिव तामाङले बताए ।
गतलाङ क्षेत्रमा अवस्थित धार्मिकस्थल पार्वतीकुण्ड, तामाङ संस्कृतिको कला बोकेको करिब चार सय स्थानीय झुरूप्प बस्ती, युरीखर्क हिमाल, विविध प्रजातिका वनस्पति अग्ला स्थानबाट देखिने, लाङ्टाङ, गणेश हिमालको मनमोहक दृश्यले नै पर्यटकलाई आकर्षण बनाइ पठाउने गरेको पर्यटन व्यवसायी बताउँछन् ।
पासाङल्हामु मार्गअन्तर्गतको सडक सञ्जालले छोएको गतलाङ गाउँ पुग्न काठमाडौँबाट एक सय ५० किलोमिटर दूरी उत्तरमा पर्ने र हिउँदयाममा जान अत्यन्तै सहज रहेको छ । अर्कातर्फ गतलाङ होमस्टे जान काटमाडौँबाटै नियमित सिधा बस सेवा सञ्चालन भइरहेको छ ।
यस्तै यही पुसको अन्तिम साताबाट हिउँ पर्ने सम्भावना बढेको र हिमपातले गतलाङको पूरै गाउँ सेताम्मे बनाउने र पुसमा परेको हिउँ माघ महिनाभर रहने विषेशता रहेकाले हिउँ खेल्न गतलाङ आउनसमेत सम्पूर्ण पाहुनालाई आग्रह गरिएको पर्यटन होटल समितिका सचिव फुर्पुले जानकारी दिनुभएको छ । हिमपातसँगै जङ्गलमा रहने चौँरीगाई घरघरमा ल्याइने भएकाले एकातिर हिउँ खेल्ने, अर्कातर्फ चाँैरीगाई, याक, भेडाबाख्रासमेत एकै थलोमा देख्न पाइने बताइएको छ ।