इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

पुष १३, काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् ।

म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले पराजि गरेको छ । जितसँगै युनाइटेडले शीर्ष चारसँगको दूरी एक अंकमा झारेको छ । ओल्डट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। १९ औँ मिनेटमा कर्नरबाट क्रिस्टियन इरिक्सनले गरेको प्रहारमा ह्रासफर्डले गोल गरेका थिए । त्यसको तीन मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै घरेलु टोली युनाइटेडको अग्रता दोब्बर बनाए ।

खेलको ८७ औँ मिनेटमा ब्राजिलियन मिडफिल्डर कासमिरोले दिएको पासमा फ्रेडले गोल गर्दै युनाइटेडको जित सुनिश्चित बनाए । जितसँगै १५ खेलमा २९ अंकका साथ युनाइटेड अंकतालिकाको पाँचौ स्थानमा छ । नटिङघम फरेस्ट १६ खेलमा १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

त्यसअघि गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो । स्टाम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सीले पहिलो हाफमा नै दुवै गोल गरेको हो । चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एक–एक गोल गरे । १६ औँ मिनेटमा रहिम स्टर्लिङले दिएको क्रसमा काइ हाभेर्टजले गोल गर्दै अग्रता लिए । २४ औँ मिनेटमा म्यासन माउन्टले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ ।

प्रिमियर लिगमा आर्सनल १५ खेलमा ४० अंकका साथ शीर्ष स्थानमा, न्यूक्यासल १६ खेलमा ३३ अंकका साथ दोस्रो स्थानमा, म्यानचेस्टर सिटी १४ खेलमा ३२ अंकका साथ तेस्रो र टोटनहम १६ खेलमा ३० अंकका साथ चौथो स्थानमा रहेको छ ।