कात्तिक १५, काठमाडौँ -सलमान खान र चेतन भगतमा एउटा समानता छ। खानको फिल्म आउनु र भगतको पुस्तक आउनुपूर्व ‘हाइप’ हुन्छ। खानको फिल्म हेरेपछि र भगतको पुस्तक पढेपछि पनि एउटै समानता पाइन्छ– कथामा के थियो? खान बलिउडका पैसा छाप्ने मेसिन भइसकेका छन्। जस्तो फिल्म आए पनि चल्छ तर यत्ति हो, दर्शकले चित्त बुझाउँदैनन्। भगतका बारेमा त टाइम्स अफ इन्ण्डियाले लेखेको छ– ‘भारतीय पब्लिकेसनका रकस्टार’। अझ दी गार्जियनले थपेको छ– ‘भारतका पेपरब्याक किङ’। गत अक्टोबर पहिलो साता सार्वजनिक भगतको नयाँ उपन्यास ‘हाफ गर्लफ्रेन्ड’ बलिउड सूत्रमा आधारित उपन्यास हो। जहाँ भगतका पाठक त छन् तर उपन्यास पढेर चित्त बुझाउँदैनन्। भारत विहार दुमराव गाउँको माधव झा अध्ययनका लागि दिल्ली पुग्छ। दिल्लीको सेन्ट स्टेफन कलेजमा भर्ना हुन आएको उसलाई सजिलै भर्ना मिल्दैन। अंग्रेजीमा कमजोर माधव हिन्दीमा अन्तर्वार्ता दिन खोज्छ। कलेजले अंग्रेजी खोज्छ तर माधवले सक्दैन। बास्केटवल खेल्ने माधव कलेजमा खेलकुद कोटाबाट भर्ना पाउँछ। त्यहीँ उसले रिया नामक केटीलाई भेटाउँछ।
राम्रो अंग्रेजी बोल्ने र धनी मारवाडी परिवारकी रिया पनि बास्केटवल खेलाडी हुन्छे। माधव रियालाई मन पराउँछ तर रियाले माधवलाई साथीमात्र सोच्छे। राम्रो अंग्रेजी बोल्न नजान्ने माधव र अंग्रेजीमा फरवार्ड रियाबीच कुराकानी हुन थाल्छ। अंग्रेजी नजानेकोमा माधवलाई ग्लानि महसुस हुन्छ। उसले रियालाई धेरै पछ्याएपछि दुवैबीच सम्झौता हुन्छ– रिया माधवको हाफ गलफ्रेन्ड बन्ने। उपन्यासको आधाउधी कथा सरसर्ती पढ्दा साठी–सत्तरीको दशकमै बनिसकेको बलिउड फिल्मजस्तै लाग्छ। तीन अध्यायमा छुट्याइएको उपन्यासको पहिलो अध्याय पढ्नेबित्तिकै त्यसपछिको रहस्यबारे सजिलै अनुमान गर्न सकिन्छ।भगतले पुस्तक लेख्दा पाठकलाई सम्झेर लेखेको भन्दा पनि कुनै निर्देशकलाई सम्झेर लेखेझैं लाग्छ। फिल्मको स्त्रि्कन–प्ले लेख्दालेख्दै तन्काएर उपन्यास बनाएको भान हुन्छ। युवापुस्ता, जसलाई प्रेम कथा मन पर्छ; उपन्यास उनीहरूकै लागि हो। त्यही भएर हुनसक्छ, भगतले रकस्टारको उपमा पाएका!
उपन्यासको अध्याय एकभित्रका कथा बिस्तारै अगाडि बढ्छन्। लम्बाउन विभिन्न प्लटले मूलकथाप्रति अन्याय देखिन्छ। दिल्ली, कलेज, रिया र माधवका साथीहरूले समय खाइदिन्छन्। अध्याय एक पढ्न पाठकले धैर्य गरेनन् भने बीचमै छोड्न सक्छन्। अध्याय दुईभित्रका कथाहरू बिहार सेरोफेरामै घुमेका छन्। अध्याय तीनमा पुगेपछि भगतले बलिउड सूत्रलाई भगतले पुनः आत्मसात गरेका छन्। कथाले नयाँ मोड लिएको बेला भगतले पात्रलाई नै आफू वरिपरि घुमाइदिएका छन्। भगतको विशेषता भनेको पुस्तकको भाषा हो। छोटा अनुच्छेदमा सरर बग्ने उपन्यास एकै बसाइमा पढेर सकिन्छ। एउटा कथादेखि अर्को कथाको कनेक्सन राम्रो छ। झिनामसिना कुराको पनि व्याख्या गरेका छन्, जुन फिल्मको सिनमा उतार्न सकिन्छ।
पुस्तक सरल अंग्रेजीमा भएकाले ‘हाफ अंग्रेजी’ भएकाहरूका लागि पनि उपयोगी छ। कथालाई उनले जीवन्तता दिन आफ्नै भूमिकादेखि बिल गेट्सको भूमिकालाई उतारेका छन्। युवावस्थामा हुने प्रेम र प्रेमभित्रका अवस्थालाई उनले सहज ढंगले प्रस्तुत गर्दा पढ्नेले कुनै कुनै बेला त्यही अवस्थाको अनुभूति समेत गर्छ। यो उनको लेखकीय चतुर्यासइँ हो। उपन्यासभित्र कुन कुरालाई महत्व दिइएको छ भन्ने कुरा भगत आफैले खुट्याउन सकेका छैनन्। उपन्यासको मूलपात्र माधवका लागि अंग्रेजी सिक्नु महŒवपूर्ण हो या रियालाई पाउनु, अन्योलको विषय बन्छ। उपन्यासमा रियाभन्दा बढी अंग्रेजीको विषयमा शब्दहरू खर्चिएका छन्। अंग्रेजी बोल्न नजान्ने बिहारको साधारण युवा कसरी मात्र बास्केट बलमा राम्रो स्कोर गरेर दिल्लीको निजी कलेजमा भर्ना हुन पुग्छ, आश्चार्य छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकालगायत विभिन्न मुलुकमा पुग्दा हिन्दीमा भाषण गरेर नयाँ भाषिक शक्तिको रूपमा उदाउन खोजिरहँदा भगतले भने अंग्रेजी भएन भने जीवन सफल नै हुँदैन भन्ने सन्देश दिन खोजेका छन्। उनले अंग्रेजी भाषा जान्ने र आर्थिक रूपले सम्पन्न वर्गलाई बढी नै पक्षपोषण गरेको पाइन्छ। बिल गेट्सलाई उभ्याएर अंग्रेजी बोल्नेले मात्र सहयोग गर्न सक्छ भन्ने पुष्टिले उनको बिहार विकासका लागि सधैं अन्तर्राष्ट्रिय आवश्यक छ भन्ने देखाउँछ।चेतन भगत जुन नामले प्रख्यात छन्, उनलाई यस्तो कथा लेख्नु सुहाउँदो देखिँदैन। जसरी सलमान खान ‘दबंग’ र ‘किक’मा देखिए। एक पाठक उमेश केशावनले उपन्यासमाथि ट्वीट गरेका छन्, ‘चेतन भगतले रिभोलुसन २०२० भन्दा खत्तम पुस्तक लेख्दैन होला भनेको तर उनको हाफ गर्लफ्रेन्ड पढेपछि रिभोलुसन २०२० नै राम्रो लाग्यो।’ साभार नागरिक दैनिक
प्रकाशक : रूपा पब्लिकेसन
पृष्ठ : २६०
मूल्य : भारु १७६
पृष्ठ : २६०
मूल्य : भारु १७६