मंसिर २१, काठमाडौं – कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगिन् ।
अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन खोजिन । तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए । उनिएक हजार आठ सय बराबरको औषधि खरिद गरेर फर्किइन् ।
“स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो तर अस्पतालमा आउँदा शुल्क लिन्छन्”, उनले भनिन्, “ सहुलियत नपाउने बीमा गरेर के फाइदा ।” उनिसँगै अस्पतालमा भेटिएका जानकीदेवी भट्टले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको गुनासो गरिन् । उनले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा लिन नपाएको गुनासो गरिन्।
“बीमा गरेको कार्ड देखाउँदा कहिले औषधि छैन भन्छन्, कहिले शुल्क लिन्छन्”, उनले भने, “स्वास्थ्य बीमा गरेवापतको सेवा हामीले पाउनुपर्छ ।” उपचारकै लागि अस्पतालमा पुग्नुभएका भीमदत्त नगरपालिका–६ का कविराज भट्ट पनि स्वास्थ्य बीमा कार्यक्रमको निःशुल्क औषधि नपाएको बताइन् । “हामीलाई आवश्यक औषधि अस्पतालमा पाइँदैन जहिल्यै अभाव छ भन्छन्”, उनले भनिन्, “स्वास्थ्य बीमा गरेपछि एकपटक पनि सेवा लिन पाएको छैन ।”
स्वास्थ्य बीमा कार्यक्रम सरकारले स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याएको जनाइएको छ । सामाजिक सुरक्षा कार्यक्रम भए पनि प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।
महाकाली प्रादेशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले स्वास्थ्य बोर्डले बीमावापतको भुक्तानी समयमै नगरिदिँदा समस्या हुने गरेको बताइन् । “बोर्डले समयमै अस्पताललाई भुक्तानी गर्दैन हामीले पनि औषधि खरिद गर्नुपर्छ”, उनले भनिन्, “अस्पतालले गरेको बोलपत्र आह्वानमा कतिपय औषधि परेनन् त्यसले पनि औषधि नपाएको हुनसक्छ ।” उनले अस्पतालले केही दिनभित्रै दोस्रो बोलपत्र आह्वान गरेर औषधि खरिद गर्ने तयारी गरिरहेको बताइन् ।
उनले बीमा बोर्डले तोकेका ८० प्रकारका औषधिबाहेकका अन्य औषधि पनि माग हुने गरेका कारण सेवाग्राहीले सेवा नपाएको गुनासो गर्ने गरेको बताइन् ।