चैत ८, भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । किसानलाई व्यावसायिक अकबरे खुर्सानीखेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी रु ५१ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।
“किसानलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने“पहिलो चरणमा रु ५१ लाख बराबरको कृषि सामग्री बोलपत्रमार्फत आह्वान गरेर वितरण थालेका छौँ । यो वर्ष करिब रु ७० लाख बराबरको सामग्री हस्तान्तरण गर्ने लक्ष्य छ ।”
किसानलाई एक हजार पाँच सय रोल मल्चिङ प्लाष्टिक, सात सय वटा टनेल प्लाष्टिक, ७८ वटा इलेक्ट्रिक स्पेरियर, १५ वटा हाते ट्र्याक्टर विरतण गरिने उनको भनाइ छ । किसानले गरिरहेको व्यवसायको आधारमा आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्। किसानलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सक्षम बनाउन ठूलो लगानीमा कृषि सामग्री वितरण गरिएको उपाध्यक्ष राईको भनाइ छ ।
“हामीले किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्दै आएका छौँ”, उपाध्यक्ष राईले भनिन् “किसानलाई मागका आधारमा सहयोग गरेका हौँ । किसानलाई बर्सेनि आवश्यक कृषि सामग्री वितरण भइरहेको उपाध्यक्ष राईले बताइन् ।
यहाँको भूगोलअनुसार पकेट क्षेत्र निर्धारण गरेर कृषिमा योजनाबद्ध रुपमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । कृषिमा नमूना बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताइन् । यहाँको उत्पादित कृषिउपजको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने अध्यक्ष राईको भनाइ छ ।
“कृषि क्षेत्रको दिगो विकासबाट मात्र किसानलाई आर्थिक रुपमा सक्षम बनाउन सकिन्छ”, अध्यक्ष राईले भने, “हामीले कृषिको योजनाबद्ध विकासका लागि काम गरिरहेका छौँ । कृषिमा लगानी गरिएसँगै गाउँपालिकामा अकबरे खुर्सानीबाट मात्र करोडौँ आम्दानी भित्रने थालेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार किसानलाई प्रोत्साहन हुने खालका कार्यक्रममा जोड दिएका छौँ ।”
गाउँपालिकाले कृषि सामग्रीसँगै अन्य सहयोग गरेपछि व्यावसायिक ढङ्गले कृषिमा लाग्न प्रोत्साहन मिलेको स्थानीय किसान टेकबहादुर थापाले बताउनुभयो । विगतबाट नै गाउँपालिकाले किसानलाई आवश्यक सहयोग गरिरहेको उनको भनाइ छ ।
“गाउँपालिकाले गरेको सहयोगले कृषिमा लाग्न प्रोत्साहन मिलेको छ”, उनले भने, “विभिन्न समयमा गाउँपालिकाले कृषि सामग्री दिँदै आएको छ । यो पटक मैले एक रोल मल्चिङ प्लाष्टिक पाए । मल्चिङ गरेर व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गर्ने सोच छ ।”
पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न गरिरहेको काम प्रशंसायोग्य रहेको स्थानीय किसान बालकुमार खड्काले बताए । गाउँपालिकाको सहयोगले कृषिमा लाग्न थप टेवा पुगेको उहाँको भनाइ छ । “गाउँपालिकाले कृषिको क्षेत्रमा गरिरहेको काम राम्रो छ”, उनले भने “विगतदेखि नै गाउँपालिकाले कृषकलाई सहयोग गर्दै आएको छ ।