विकट बस्ती काँशिकाँधको गोर्तिमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

फागुन ६, दैलेख-  भौगोलिक रूपमा जिल्लाको अतिविकट मानिने उत्तरी क्षेत्रमा अवस्थित महावु गाउँपालिका–५ काँशिकाँधको गोर्तिमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विकट पालिकाको पनि अतिविकट गोर्तिमा स्वास्थ्य एकाइ स्थापना गरेको हो ।

गाउँपालिकाले स्थानीयलाई लक्षित गरेर पालिकाका छ वडामध्ये सामुदायिक पाँच ठाउँमा स्वास्थ्य एकाइ स्थापना गरिसकिएको र क्रमशः सबै वडामा सेवा पुर्याउने महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । “हाम्रो गाउँपालिका भौगोलिक रूपमा विकट छ”, अध्यक्ष शाहीले भने, “यहाँका नागरिकलाई सामान्य स्वास्थ्योपचार पाउन मुस्किल छ । नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालेका छौँ ।”

गाउँपालिकामा वडास्तरीय चारवटा स्वास्थ्य चौकी र एक महावु गाउँपालिकाको ठूलो अस्पताल भए पनि भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समस्या देखिएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष शाहीले बताए । “गाउँपालिकामा नागरिकलाई स्वास्थ्य सेवाको अति नै समस्या छ”, अध्यक्ष शाहीले भने, “भौगोलिक रूपमा निकै विकट क्षेत्र पनि छन् । जहाँबाट वडामा रहेको स्वास्थ्य चौकीमा पुग्न नै घण्टौँ हिँड्नुपर्ने अवस्था छ । नागरिकलाई सहज आधारभूत सेवा दिन हामीले पहल थालेका छौँ”, उनले भने ।

आफू दोस्रोपटक निर्वाचित भएर आएपछि पहिलो कार्यकालमा आफैँले सुरु गरेका स्वास्थ्य, शिक्षासँगै सडक, विद्युत्, पूर्वाधारलगायतका विकास पूरा गर्न पुनः योजनाबद्ध काम सुरु गरेको शाहीले बताउनुभयो । योजनाको प्राथमिकता निर्धारण गरेर योजनाबद्ध विकासमा ध्यान दिएको छु, विशेषगरी महावुलाई कृषिको हब बनाउने योजनामा लागेको छु भने ।

महावु गाउँपालिकाले वडा नं ५ का नागरिकलाई सहज रुपमा स्वास्थ्यसँगै आधारभूत सेवा पुर्याउन भूमिका खेलिरहेको वडाध्यक्ष दीपबहादुर शाहीले बताए । महिलाको स्वास्थ्यमा हुने समस्यालाई मध्यनजर गरेर पनि सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको उनको भनाइ छ । वडा नं ५ मा हामीले सेवा प्रवाहमा सहजता थप्ने गरी काम गरेका छौँ । राज्यले दिएको सेवा सुविधा जनस्तरमा पुर्याउन लागिपरेका छौँ उनले बताए ।

आपत्कालीन अवस्थामा सामान्य प्राथमिक स्वास्थ्योपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको वडा नं ५ गोर्तिका स्थानीयवासी ठिमबहादुर बरालले बताए । सामान्य बाहेकका अन्य उपचार लिनका लागि दैलेख सदरमुकाम जानुपर्ने बाध्यता छ । “स्वास्थ्य एकाइ स्थापनाले सहज सेवा भएको छ”, उनले भने, “हामीले आधारभूत स्वास्थ्य सेवा पाउन नै कठिन थियो । सहरका अस्पताल पुग्न धेरै कठिन छ ।”

यहाँबाट गाउँपालिका गैङडावाज अस्पताल पुग्न पाँचदेखि छ घण्टासम्म लाग्छ । वर्षा सुरु भएपछि यातयात सेवा ठप्प हुन्छ । अब भने सामान्य स्वास्थ्योपचार र औषधि लिन अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।

Leave a Reply

Your email address will not be published.