माघ ७, काठमाडौं – मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत समूहचरणको दोस्रो तथा नेपालका लागि सुपर सिक्सको निर्णायक मानिएको खेलमा आज नेपालले स्कटल्यान्डको सामना गर्दैछ।
नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ। दुवै टोलीले पहिलो खेलमा हार भोगेकाले दोस्रो खेलमा जित निकाल्दै सुपर सिक्समा पुग्ने रणनीतिमा मैदानमा उत्रिने छन्। नेपाल पुजा महतोको कप्तानीमा मैदानमा उत्रिँदा स्कटल्याण्डको कप्तानमा नियाम मुइर रहनेछिन्।
प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो। उक्त खेलमा नेपालको ब्याटिङ राम्रो चल्न नसक्दा कमजोर योगफलमै समेटियो। त्यस्तै स्कटल्याण्डले पनि पहिलो खेलमा उपाधि दाबेदार टोली अस्ट्रेलियासँग ९ विकेटको हार भोगेको थियो।
नेपाल बंगलादेशसँग ५२ रनमा तथा स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो। दुवै टोली ब्याटिङ लाइनअप सुधार्दै जित सहित सुपर सिक्स बलियो बनाउने लक्ष्यमा मैदान उत्रिने छन्।
नेपालले महिला क्रिकेटको इतिहास कुनैपनि समूहमा विश्वकप खेल्ने यू(१९ महिला टोली पहिलो टिमका रुपमा रहेको छ। यसअघि पनि विश्वकप खेलिसकेको स्कटल्याण्ड छनोटचरण पार गरेर अघि बढेको हो। स्कटल्यान्डलाई हराउन सके नेपालको सुपर सिक्सको यात्रा बलियो हुनेछ।