पुस २२, रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–६ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि खेलकुद मैदान निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।
चन्द्रपुरका नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेका अनुसार छाया नेपाल नामक संस्थाले बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि आवश्यक खेलकुद पूर्वाधार तथा खेलकुद सामग्रीसहित उक्त खेलकुद मैदान निर्माणमा सहयोग गरेको हो ।
सो खेलकुद मैदानको निर्माण लागत कुल रू २५ लाख १३ हजार नौ सय ७७ रहेको छाया नेपालका मधेश प्रदेश संयोजक आशिषकुमार रायले जानकारी दिए ।
खेलकुद मैदान तथा करेसाबारीको सञ्चालन जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिले गर्नेछ । सो विद्यालयमा छात्राबासमा बसी अध्ययन गर्ने ५४ जना बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरूले खेलकुद मैदानबाट सेवा लिन सक्ने विद्यालयले जनाएको छ ।