मुस्ताङको साङ्तामा सोलारबाट विद्युतीकरण

भदौं ३०, म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य ऊर्जाबाट विद्युतीकरण गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो ।

साङ्तामा तत्काल केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्ने सम्भावना नभएपछि सौर्य ऊर्जा जडान गरिएको मुक्तिक्षेत्र–५ का वडासदस्य छिरिङपासाङ गुरुङले बताउनुभयो । “रु ४४ लाख बजेटमा १० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो”, उनले भने, “साङ्ताका १३ घर लाभान्वित भएका छन् ।” विद्युत् सुविधा भएपछि स्थानीयवासीको जनजीवन सहज भएको छ ।

मोबाइल चार्ज गर्न, रेडियो सुन्न, टेलिभिजन हेर्न, ल्यापटप चलाउन सहज भएको छ । स्थानीयवासीले उज्यालोका लागि यसअघि घरघरमा थोरै क्षमताको सोलार सेट जडान गरेका थिए । गाउँ नजिकैको डाँडामा सोलारका प्यानल राखिएका छन् । सोलार प्यानल नजिकै घर बनाएर ब्याट्री भण्डारण गरेर राखिएको छ । प्यानल र ब्याट्री भएको घर परिसरलाई तारको घेराबार बनाइएको छ । पोल गाडेर तारमार्फत घर–घरमा विद्युत् आपूर्ति गरिएको छ ।

कर्णाली प्रदेशको डोल्पा जिल्लाको सिमानामा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ को फल्याक गाउँबाट साङ्ता २८ किलोमिटर टाढा छ । साङ्तालाई मुस्ताङको कान्छो गाउँका रूपमा चिनिन्छ । सबैभन्दा पछि पहिचान भएकाले साङ्तालाई कान्छो बस्ती भनिएको हो । साङ्तामा हालसम्म मोबाइल र इन्टरनेटको सुविधा पुुगेको छैन । सूचना अदानप्रदानका लागि दुई घण्टा पैदल हिँडेर झमटङ डाँडामा पुग्ने गर्छन् । वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले नेपाल टेलिकमसँग समन्वय गरेर साङ्तामा मोबाइल फोन सेवा विस्तारको तयारी गरेको बताए ।

दश वर्षअघि सडक सुविधा पुुगेको साङ्तामा हालै एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published.