तिब्बती क्षेत्रको पर्यटन प्रवर्द्धनबारे छलफल

भदौ २७, काठमाडौ – प्रसिद्ध पवित्र स्थल कैलास मानसरोवर जाने नेपाली पर्यटकको सङ्ख्या बढेसँगै चीनको बृहत तिब्बती क्षेत्रको पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने भएको छ ।

चीनमा पर्यटकीय भ्रमण व्यवस्थापन गर्ने नेपाली संस्था नेपाल कल्चर एण्ड टुरिजम इन्भेष्टमेन्ट प्रालिको आयोजनामा आज यहाँ ‘सुन्दर चीनः तिब्बती क्षेत्रको पर्यटन प्रवद्र्धन’ विषयक कार्यक्रमको आयोजना गरी तिब्बतको पर्यटकीय सम्भावनाबारे नेपाली पर्यटन व्यवसायी एवं सरोकारवालालाई जानकारी दिइएको हो ।

हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीहरुको पवित्रस्थल कैलास मानसरोवर जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ । कार्यक्रममा बृहत् तिब्बत समेटिएको चीनका तिब्बत, छिङ्गहाइ, कान्सु, सिछुवान र युनान गरी पाँच प्रान्तको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिएको छ । पाँचै प्रान्तको पर्यटकीय क्षेत्रका तस्वीर र भिडियोसमेत राखेर तयार पारिएको अनलाइन पोर्टल पनि आजै सार्वजनिक गरिएको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले तिब्बत पर्यटन प्रवद्र्धन कार्यक्रमले नेपाल र चीनको पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । “यस्ता कार्यक्रम पर्यटन बोर्डले गर्नुपर्ने थियो, तर निजी क्षेत्रबाट जुन किसिमको पहल भएको यसका लागि आयोजक संस्थालाई विशेष धन्ववाद दिन चाहन्छु”, उनले भने, “पछिल्लो समय धेरै नेपाली मानसरोवर पुग्नेगरेका तथा धेरै विदेशी पर्यटक नेपाल भएर मानसरोवर गइरहेको सन्दर्भमा यस्ता कार्यक्रमले तिब्बतमा माउन्ट कैलासबारे व्यवसाय प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।”

उपाध्यक्ष सापकोटाले पवित्र माउन्ट कैलाशका लागि विभिन्न चार रुटको चिनारीले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने भन्दै नेपाली व्यवसायी र चिनियाँ व्यवसायीबीच ‘बिटुबी’ कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गरिनुपर्ने खाँचो औंल्याए।

उनले आगामी दिनमा नेपालको पर्यटनलाई चीनको तिब्बत, मानसरोवरलगायत समग्र चीनका पर्यटकीय गन्तव्यमा प्रवद्र्धन गर्न बोर्ड सक्रिय ढङ्गले लाग्ने बताए। चीन सरकार, चीनका पर्यटन व्यवसायी संस्थासँग सहकार्य गरेर चीनबाट धेरैभन्दा धेरै पर्यटक आकर्षण गर्न लागिपर्ने उनले बताए ।

विज्ञ पुण्यप्रसाद पराजुलीले मानसरोवर यात्रा गर्ने नेपालीको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको गुणस्तरीय पर्यटन सेवाका बारेमा नेपाली व्यवसायीले पनि जानकारी लिनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published.