तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी

भदौं २३, वेदकोट – कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ । सुरुआतमा उनी घरमा खानलाई मात्र तरकारीखेती गर्थे ।

तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुटेका थिए । तरकारीखेतीबाट मनग्य आम्दानी भइरहेको उनी सुनाउछन् । “घरमै खानलाई दुई कट्ठा जमिनमा तरकारी लगाउँथेँ, धान, गहुँखेती गरिन्थ्यो । अहिले विस्तार गरेर दुई बिघामा लगाइएको छ”, खड्काले भने, “धान, गहुँखेती कम गरिन्छ । तरकारीखेतीमै लागिएको छ ।”

उर्वर भूमिमा धानका बाला लटम्म झुलेका छन् । धानबाली काटेर तरकारी लगाउने तयारी छ । चार कट्ठामा लगाइएको तरकारीका बेर्ना तयार भएका छन् । तरकारीको बेर्ना पनि बिक्री गर्ने गरेको खड्का बताउछन् । उनको परिवारमा १२ सदस्य छन् । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्च चलेको छ । तरकारीखेतीमा करिब रु सात लाख लगानी लाग्ने गरेको छ ।

“मल, बीउबिजन, सिँचाइलगायतमा वार्षिक लगानी कटाएर १५ लाख बचत हुन्छ”, खड्का भन्छिन्“तरकारी बिक्रीका लागि सदरमुकाम महेन्द्रनगर लैजाने गरेका छौँ ।”

तरकारीखेतीमा परिवारका सदस्य सबै जुट्ने गरेका छन् । भारतमा काम गर्ने वीरबहादुरका जेठा छोरा उमेश पनि अहिले गाउँमै बुबालाई खेतीमा सघाउँदै आएका छन् । “कोरोना महामारीका समयमा भारतबाट फर्किए, त्यसपछि भारत गएको छैन”, उमेशले भने, “तरकारी खेतीमा बुबालाई सघाएरै भारतमा कमाउनेभन्दा बढी पैसा कमाइ हुन्छ ।”

भारतबाट आयात हुने तरकारीका कारण आफूहरूको उत्पादनले सोचेजस्तो मूल्य नपाएको खड्का परिवारको गुनासो छ । भारतबाट आउने तरकारी बजारमा छ्यापछ्याप्ती हुँदा स्वदेशी उत्पादनले बजार पाउन मुस्किल भएको छ । “विषादी प्रयोग गरिएको तरकारी छिट्टै तयार भएर सस्तोमै बजारमा आउँछ । त्यसले स्वदेशको अग्र्यानिक ताजा तरकारीले मूल्य पाउँदैन”, उनले भने, “तरकारी सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।”

वीरबहादुरको परिवार आलु, प्याज, भन्टा, खुर्सानी, बैगनलगायत तरकारी उत्पादनमा व्यस्त छ । सरकारले बर्सेनि कृषिमा अनुदान दिने गरेको भए पनि आफूहरूले अहिलेसम्म अनुदान नपाएको उनको गुनासो छ । “यत्रो समयदेखि तरकारीखेती गरिरहेको छु । अहिलेसम्म पनि अनुदान पाएको छैन”, खड्काले भने ।

Leave a Reply

Your email address will not be published.