राससमा २४सै घण्टा समाचार सेवाः सेवाग्राही उत्साहित

शीतलप्रसाद महतो/रासस

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिको अभूतपूर्व विकासले सञ्चार क्षेत्रमा पनि आमूल परिवर्तन आएको छ । यसले अहिलेको युगलाई डिजिटल युगमा प्रवेश गराएको छ । सञ्चार क्षेत्रमा भित्रिएको नवीनतम् प्रविधि र सीपले ओतप्रोत भएका सञ्चारमाध्यमको माग र आवश्यकतालाई दृष्टिगत गरेर राष्ट्रिय समाचार समिति ९रासस० ले पनि विसं २०५२ देखि कम्प्युटर प्राणालीमार्फत समाचार सेवा प्रवाह गर्दै आएको छ । सञ्चार तथा सूचना प्रविधिको अधिकतम् उपयोग गरेर परिवर्तनशील र सिर्जनशील समाज निर्माणमा क्रियाशील रहेका विभिन्न सञ्चारमाध्यमलाई यसले ठूलो सहयोग पु¥याएको छ ।

पछिल्लो समय डिजिटल प्रविधिको तीव्र विकाससँगै समाचारको दायरा पनि फराकिलो भएको छ । कुनैबेला समय, समाज र क्षेत्रका आधारमा सीमित रहेको समाचार आज कुनै पनि सीमाले बाँधिन सक्दैन । सूचना सम्प्रेषण गर्ने सञ्चारमाध्यम होस् वा सूचना प्राप्त गर्ने नागरिक आज कुनै भूगोल वा क्षेत्रमा मात्र सीमित छैनन् । प्रविधिसँगै सूचना र समाचारको दायरा पनि निरन्तर विश्वव्यापीकरण भइरहेको छ । आज समाचारका पाठक र दर्शकमात्र होइन, नेपाली सञ्चारमाध्यम पनि विश्वभर फैलिएका छन् । सूचना प्रविधिको विकाससँगै नागरिकले हरेक सूचना र समाचार चाँडो प्राप्त गर्न चाहन्छन् । यही आवश्यकता र समयको मागअनुसार राससले पनि २४सै घण्टा नेपाली समाचार सेवा सुरु गरेको छ ।

स्वदेश तथा विदेशका सत्यतथ्य र आधिकारिक समाचार सङ्कलन, सम्पादन र सम्प्रेषण गरी जनतालाई सुसूचित गर्ने उद्देश्यले २०१८ फागुन ७ गते स्थापना भएको राससले नेपाली समाचार सेवालाई परीक्षणका रुपमा २०८१ भदौ ११ देखि २४सै घण्टा सञ्चालनमा ल्याएको छ । त्यसको औपचारिक उद्घाटन भने यही भदौ १७ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट हुँदैछ । निजी क्षेत्रबाट सञ्चालित नेपाल संवाद समिति ९नेसस० र सगरमाथा समाचार समिति ९ससस० एक आपसमा गाभिएर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति हो । समाचार प्रदायक सञ्चार गृहका रुपमा सञ्चालित राष्ट्रिय संवाद समितिलाई रासस ऐन २०१९ संशोधन गरी २०२८ सालमा राष्ट्रिय समाचार समिति नामकरण गरिएको हो ।

सुरुमा राससको संस्थापक व्यवस्थापक आदित्यध्वज जोशीको नयाँसडकस्थित घरमा भाडामा रहेको रासस कार्यालय २०३१ सालदेखि भद्रकाली प्लाजास्थित आफ्नै भवनमा सञ्चालन हुँदै आएको छ । तत्कालीन राष्ट्रिय निर्देशन, शिक्षा तथा विकासमन्त्री विश्वबन्धु थापा ९रोयल होटल, कान्तिपथमा० मा आयोजित कार्यक्रममा राससको उद्घाटन गर्नुभएको थियो । स्थापनाकालमा राससको समाचार बुलेटिन रात्रिसेवाका रुपमा मात्र प्रकाशित हुन्थ्यो । रेडियो नेपालका लागि समाचार प्रसारण हुनुअघि पठाइन्थ्यो । पत्रपत्रिकाका लागि साइकलब्वाइमार्फत रात्रिकालीन बुलेटिन पठाइन्थ्यो । पछि सेवाग्राहीको मागबमोजिम २०६३ सालसम्म दैनिक पाँचपटक बुलेटिन निकाल्न थालियो । बिहान, मध्याह्न, अपराह्न, साँझ र रात्रिगरी पाँचपटक बुलेटिन निकाल्ने गरेको थियो । प्रविधियुक्त सञ्चारमाध्यमको माग र आवश्यकतालाई ध्यानमा राखेर छिटो, छरितो र तत्काल उपलब्ध गराउनका लागि पछिल्लो समय राससले अनलाइनमार्फत आफ्ना सेवालाई सेवाग्राहीसम्म पु¥याउने व्यवस्था गरेको छ । हालसम्म तीन सिफ्टमा मात्र सञ्चालन हुने गरेको सेवा अबदेखि चार सिफ्टमा सञ्चालन हुने भएको छ ।

वास्तवमा नवीनतम् प्रविधि नै डिजिटल सञ्चारमाध्यमको पूर्वशर्त हो । अहिलेको एक्काइसौँ शताब्दीको सञ्चारमाध्यम अत्याधुनिक प्रविधियुक्त मूल्य र मान्यताले सुसज्जित छन् । कम्प्युटर प्राणालीमार्फत राससले समाचार सेवा प्रवाह गर्न थालेपछि टाइपगरी लिथोबाट बुलेटिन प्रकाशन गरी साइकलमा चढेर वितरण गर्ने परिपाटीको अन्त्य भएको छ । सुरुमा नेपाली भाषामा समाचार सेवा सञ्चालन गरिएको राससले समयसापेक्ष रुपमा सेवाग्राही र आमजनताको मागबमोजिम २०२० फागुन १८ देखि अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, २०५५ वैशाखदेखि आलेख समाचार, २०६४ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटो, २०६६ फागुन ७ देखि अडियो ९श्रव्य०, २०७९ साउनदेखि आलेख÷विचार र अन्तर्वार्ता हुँदै हाल श्रव्यदृश्य समाचार सेवा प्रवाह गर्दै आएको छ ।

मुलुकको एकमात्र समाचार समिति राससले ‘न्यूज बैंक’ र ‘मिडियाको पनि मिडिया’ का रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । सञ्चारमाध्यमको माग र आवश्यकतालाई राससले विविध सेवाका माध्यमबाट सम्बोधन गर्ने प्रयत्न पनि गर्दै आएको छ । नेपालको संविधान २०७२ ले निदृष्ट गरेको सिद्धान्तलाई अङ्गीकार गर्न रासस प्रयासरत छ । बहुलवादको अवधारणालाई आत्मसात् गरी राससले विभिन्न ९मातृ० भाषामा समाचार बुलेटिन प्रकाशन गरी मिडिया बहुलवादको नीति कार्यान्वयन गर्ने जमर्को गरेको छ । मुलुकमा सयभन्दा बढी भाषाभाषी रहेको भए पनि राज्यको मातहत र नेपाल सरकारको व्यवस्थापनमा रहेको राससले अहिलेसम्म नेपाली र अङ्ग्रेजी भाषामा मात्र आफ्नो सेवा दिइरहेको छ । त्यसैले मुलुकका विभिन्न भागमा बोलिने भाषा अब राससले बुझ्नुपर्छ र बोल्नु पनि पर्छ भन्ने मान्यताअनुसार आफ्नो सेवामा विविधीकरण गर्ने नीति लिएको छ । सोही नीतिअनुसार राससले गत वर्षदेखि अवधि भाषाको माध्यमबाट मातृभाषामा पनि समाचार सेवा उपलब्ध गराउँदै आएको छ ।

निकट भविष्यमा नै नेपाल भाषा तथा मैथिली भाषामा समाचार सेवा उपलब्ध गराउने गृहकार्यमा जुटेको छ । यसरी समावेशी अवधारणालाई आत्मसात्गरी राससका सेवालाई विविधीकरण गर्दै लैजाने र राससका समाचार सामग्रीलाई पनि समावेशी बनाउने रणनीति राससले लिएको छ । त्यसका लागि राससमा नियुक्त हुने स्थानीय समाचारदाता ९स्ट्रिङ्गर० का हकमा पनि भौगोलिक, जातीय, धार्मिक, लैङ्गिक समावेशीतालाई प्राथमिकता दिएको छ । पछिल्लो समयमा नियुक्ति गरिएका स्थानीय समाचारदातामा अधिकांश महिला, दलित, जनजाति, मधेसी र अल्पङ्ख्यक समूहका छन् ।

सेवाग्राहीको मागलाई सम्बोधन गर्न राससले आफ्ना सेवाको थप विस्तार र विविधीकरण गर्न तथा अन्तर्राष्ट्रिय समाचार समितिको हाराहारीमा आफूलाई उभ्याउन नेपाली समाचार सेवालाई चौबिसै घण्टा विस्तार गरेको छ । राससको यो सेवाले आमसेवाग्राही सञ्चारमाध्यम त लाभान्वित हुनेछन् नै, सँगै आमनागरिकको सूचना र समाचारको दायरा पनि झन् फराकिलो हुने विश्वास राससको छ । सामाजिक सञ्जालको तीव्र प्रयोगका कारण सेकेन्डसेकेन्डमा प्रवाह भएका सूचनाले आमनागरिकलाई दिग्भ्रमित बनाइरहेका बेला राससको यो विस्तारित सेवाले सही सूचना र समाचार प्राप्त गर्ने अधिकारको रक्षा गर्नेछ भन्ने विश्वास छ । यो सेवा विस्तारसँगै सेवाग्राहीको संख्यामा समेत वृद्धि हुने अपेक्षा राससले लिएको छ । ग्राहक सेवा विस्तार गरी सेवा क्षेत्र व्यापक बनाउने सन्दर्भमा राससले सेवाग्राही निर्देशिका पारित गरी लागू गरिसकेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन मिडियासँगै सो निर्देशिकाले नेपाल सरकार मातहतका सबै निकाय, प्रदेश तथा स्थानीय तह, गैरसरकारी तथा कूटनीतिक निकायलगायतलाई सेवाग्राही बनाउन सकिने व्यवस्था गरेको छ । अहिलेसम्म राससले आफ्नो सेवालाई निरन्तर रुपमा १७ घण्टा उपलब्ध गराउँदै आएको छ ।

विश्वका कुनै पनि देशमा समाचार समिति सुत्दैन र यसको समाचारको डेडलाइन पनि हुँदैन भन्ने भनाइ छ । पछिल्लो समय राससमा त्यसलाई अनुसरण गर्ने प्रयास थालेको छ । हुनत् यसको अभ्यास प्रतिनिधिसभाको २०७९ मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनको मतगणनाबाट नै राससले सुरु गरेको थियो । निर्वाचन परिणाम सबैको चासोको समाचार भएकाले राससबाट नेपाली र अङ्ग्रेजी भाषामा चौबिसै घण्टा समाचार सम्प्रेषण भएको थियो । निर्वाचनको पूरै परिणाम नआउँदासम्म करिब दुई हप्ता राससले चौबिसै घन्टा समाचार सेवा प्रवाह गरेको थियो । चौबिसै घण्टा समाचार सेवा दिएको राससको इतिहासमा यो पहिलोपटक थियो । त्यसबेला राससका सेवाग्राही खुसी भएका थिए भने उनीहरूमार्फत देशविदेशमा रहेका सबै नेपाली नागरिक सुसूचित हुन पाएका थिए ।

राससका सेवाग्राही, विशेषगरी अनलाइन न्युज पोर्टलहरुले अहिले पनि त्यस्तै समाचार सम्प्रेषणको अपेक्षा गर्दै आएको र यो सेवालाई निरन्तरता दिन सुझाउँदै आएको छ । तर त्यसबेला सीमित साधनस्रोत र जनशक्तिका कारण चौबिसै घण्टा समाचार सेवा सम्प्रेषण गर्न सम्भव नदेखिएपछि यसका लागि आवश्यक स्रोत र सम्भावनाको खोजीमा राससले लागिपरेको थियो । फलस्वरुप सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट आवश्यक बजेट विनियोजन भएपछि आजदेखि सो सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ । आज विज्ञान तथा प्रविधिको अकल्पनीय चमत्कारका कारण सञ्चार क्षेत्रमा विकसित डिजिटल प्रविधिको तीव्र विकाससँगै समाचारको दायरा पनि फराकिलो भएको छ । राससले चौबिसै घण्टा नेपाली समाचार सम्प्रेषण गर्न थालेपछि सेवाग्राही खुसी एवं उत्साहित भएका छन् ।