गोठमै पुगेर पशुको निःशुल्क बाँझोपनको परीक्षण

भदौ १४, काठमाडौ – गाईवस्तुमा बाँझोपनको समस्या भएपछि यसको समाधान गर्न जिल्लामा पशु प्राविधिकले किसानको गोठमै पुगेर परीक्षण एवं उपचार थालेका छन् ।

पशु सेवा कार्यालयको प्राविधक सहयोग र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको समन्वयमा गाई भैंसीमा हुने बाँझोपनको परीक्षण तथा उपचार थालिएको हो । पशु सेवा कार्यालय चितवनका सूचना अधिकारी डा बब्लु ठाकुरका अनुसार किसानको गोठमै पुगेर अल्ट्रासाउण्ड ९भिडियो एक्सरे० गरेर गाईवस्तुको गर्भजाँच परीक्षण तथा उपचार थालिएको छ ।

पशुको बाँझोपन निवारणका लागि यो कार्य थालिएको उनले बताए । यसरी परीक्षण गर्दा किसानलाई पशुमा गर्भ छ वा छैन भन्ने पत्ता लगाउन महिनौँ कुर्न नपर्ने र बाँझोपन भएका पशुको उपचारमा सहज हुने उनले बताए । उनले तीनपटकभन्दा बढी कृत्रिम गर्भाधान गर्दा पनि गर्भ नरहेका गाईमा यो परीक्षण गरिँदै आएको बताए ।

रत्ननगरबाट बुधबारदेखि गाईमा हुने बाँझोपनको परीक्षण सुरु गरिएको र आज कालिका नगरपालिकामा परीक्षण गरिएको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिए। पशु सेवा कार्यालयका प्राविधिकसहितको टोली र दुग्ध उत्पादक सहकारीका प्रतिनिधि संयुक्त रूपमा किसानका गोठमै पुगेर परीक्षण तथा उपचार गरिँदै आएको उनले बताए ।
जिल्लाका सातवटै पालिकामा पुगेर गाईवस्तुको बाँझोपन परीक्षण गरिने उनले जानकारी दिए ।दुग्ध सहकारीमार्फत किसानका गाई छनोट हुने र सोहीअनुसार परीक्षण हुँदै आएको उनले बताए ।