सेवा विस्तार गर्दै दमौली अस्पताल, प्रसूति सेवा १८ महिनापछि पुनःसञ्चालन

भदौ १४, काठमाडौ -तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो ।

त्यसमध्ये शल्यक्रियामार्फत प्रसूति सेवा १८ महिनापछि पुनःसञ्चालन भएको हो भने अन्य दुई सेवा नयाँ रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए। जनशक्ति अभावमा लामो समयदेखि रोकिएको शल्यक्रियामार्फत प्रसूति सेवा जनशक्तिको व्यवस्था भएसँगै सञ्चालनमा ल्याइएको बरालले बताए । सर्जरी सेवा र एमडिजिपी सेवा आर्थिक वर्ष २०८०÷८१ मा र पाठेघर फाल्ने शल्यक्रिया सेवा चालु आर्थिक वर्ष २०८१÷८२ मा सुरु गरिएको बरालको भनाइ छ ।

शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । एनेस्थेसिया सहायक र स्त्रीरोग विशेषज्ञका लागि व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले मसिक तलब दिने व्यवस्था गरेपछि शल्यक्रियामार्फत प्रसूति सेवा सञ्चालन गरिएको बरालले बताए ।

बरालका अनुसार गत वैशाखदेखि पुनः सुरु भएको शल्यक्रियामार्फत प्रसूति सेवाबाट १९ जना लाभान्वित भएका छन् । दुई सय ९८ जनालाई भने सामान्य प्रसूति सेवा दिइएको बरालको भनाइ छ । अस्पतालमा हर्निया, हाइड्रोसिलको सर्जरी सेवा सञ्चालन गरिएको छ ।

त्यस्तै अस्पतालले गत साउन १४ गतेदेखि पहिलोपटक पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु गरिसकेको छ । अस्पतालका प्रसूति विशेषज्ञ डा कुमार विष्टको समूहले एकजना महिलाको पाठेघर फाल्ने शल्यक्रिया सेवा सञ्चालन गरिसकेका छन। दमौली अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा यस आसपासका भेगका महिलालाई सहज हुने बरालको भनाइ छ । उनले भने, “यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपथ्र्यो, अब यहीँ यो सेवा नियमित रूपमा सञ्चालन हुनेछ ।”

अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा हाल ५७ जना मिर्गौलापीडितले डायलाइसिस सेवा लिइरहेकाछन । मिर्गौलापीडितले डायलासिसका लागि पालो कुर्नपर्ने अवस्थाको अन्त्य भएको छ । पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५४ शय्याबाट सेवा दिइरहेको छ । बढ्दो बिरामीको चापसँगै अस्पतालको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बरालले बताए।