डा. दामोदर रेग्मी
पुस्तकको छनौट कसरी गर्ने
बजारमा परीक्षालाई लक्षित गरेर लेखिएका थुप्रै पुस्तकहरु पाइन्छन् उचित सन्दर्भ सामग्री प्रयोग भएका सामयिक विषयको छनौट र परीक्षाको प्रस्तुतिमा ध्यान दिएर लेखिएका लेखकहरुको पुस्तक छनौट गर्दा राम्रो हुन्छ। पुस्तक यस्तो किनौं जो परीक्षाका अतिरिक्त अन्य समय र सन्दर्भमा समेत उपयोगी बनोस । जसले परीक्षामा उत्तीर्ण गराउनुको साथै पछि पनि काम लागोस् ।
आधारभूत विषय तथा पुस्तकहरु
सबै परीक्षाको लागि केही पुस्तकहरु आधारभूत हुने गर्दछन् जस्तो संविधान निजामती सेवा ऐन र नियमावली आवधिक योजना सरकारको नीति तथा कार्यक्रम बजेट वक्तव्य आर्थिक सामाजिक सूचकहरु राजनैतिक प्रणाली विश्व परिवेशमा चर्चामा रहेका विषयहरु सेवा समूहसंग सम्बन्धित नीतिहरु । यी विषयहरुमा जानकार हुनु आवश्यक हुन्छ ।
पढाइको शुरुवात कसरी गर्ने ?
पुस्तकको छनौट गर्नुपूर्व कुन पदको परीक्षा दिदैछौ सो को पाठ्यक्रम के छ ?, सो जानकारी हुनु पर्दछ । यसपछि सो पाठ्यक्रममा समावेश भएका सबै विषय रहेका जुनसुकै पुस्तकहरुलाई आफ्नो मूल पाठ्यसामग्री बनाउन सकिन्छ । शुरुमा पढिने यी पुस्तकहरु छोटो छरितो र सरल भाषामा भएको भएमा विषय र अवधारणा बुझ्न सजिलो हुन्छ। शुरुको यो पढाइले हामीलाई पाठ्यक्रमको समग्र विषयसंग परिचित गराइदिन्छ । यो पढाइले हामीमा एक तहको क्षमता विकास गरिदिन्छ । तर यो चरणको पढाइले मात्र निखारता आइसकेको हुदैन र प्रतिस्पर्धाको लागि पूर्ण बनाएको पनि हुदैन । यसर्थ अब आधिकारिक किताब जसमा पाठ्यक्रमका विषयहरुलाई सैध्दान्तिक पक्ष अन्तरार्ष्ट्रिय र राष्ट्रिय परिवेशमा प्रयोगको अवस्था प्रवृत्ति अवसर र चुनौतीहरु लगायतका पक्षमा वर्णनात्मक प्रस्तुति रहेका पुस्तक पढ्नु पर्दछ । दोश्रो चरणको यो पढाइले हामीमा आत्म विश्वास बढाइदिन्छ।
पढ्ने र सम्झने कसरी ?
• दैनिक कति समय पढ्ने हो त्यसको कार्ययोजना बनाउने
• धेरै समय पढेर कम कुरा स्मृतिमा राख्ननुको साटो पढेजति सम्झन सकिने किसिमबाट पढ्ने
• पढ्दा आफूलाई सजिलो हुने गरी नोट तयार गर्ने
• एक विषय पढिसकेपछि अर्को विषय पढ्दा ती दुई विषयको अन्तरसम्बन्ध पहिचान गर्ने
• विषयहरुको एक अर्कासंगको अन्तरसम्बन्ध कायम गर्ने
• पढेका कुरालाई विस्तार र संकुचन गर्न सक्ने क्षमताको विकास गर्ने
• पढाइ पछि कुन कुन विषयलाइ कुन कुन कोणवाट परीक्षामा कसरी सोध्न सक्ने संभावना हुन्छ त्यसको बारेमा एक्लै गम्ने वा मनमिल्दो साथीसंग छलफल गर्ने
• सम्झन कठीन कुराहरुलाई सूत्र अक्षर वा अंकको आधारमा सम्झने
• तथ्यांकहरुलाई कहां-कहां कसरी प्रस्तुत गर्न सकिन्छ त्यसको अन्तर आवध्दता के हो र त्यसले कस्तो प्रवृत्तिको संकेत गरिरहेको छ सो बारे स्पष्ट हुने ,
अरु भन्दा भिन्न कसरी हुने ?
सफलता प्राप्तिको लागि अन्य प्रतिस्पर्धी भन्दा राम्रो र फरक बन्नु आवश्यक हुन्छ । यसको लागि सम्बन्धित संस्थाका वेवसाइट जर्नल प्रतिवेदन विभिन्न सर्च इन्जिनबाट नयां सामग्री तथा चित्रमय प्रस्तुति खोज्ने गर्नु पर्दछ । तेश्रो तहको पढाइले हामीलाई अरु प्रतिस्पर्धी भन्दा भिन्न आकर्षक र सवल बनाइदिन्छ । पढाइमा यी तीन तहको श्रृंखलाबध्द संयोजनको आवश्यकता रहन्छ । प्रतिस्पर्धात्मक परीक्षाको लेखाई राम्रो भएर मात्र पुग्दैन अरु प्रतिस्पर्धीको भन्दा विचारोत्तेजक, सिर्जनशील र वस्तुपरक हुनु अति आवश्यक हुन्छ । जसले परीक्षामा सफलता हासिल गर्नमा सहयोग पुर्याउंदछ ।
उत्तरको लेखन कसरी ?
उत्तरमा कुनै प्रश्नका सबै विषय सम्बोधन हुनु आवश्यक छ । जस्तो के ?, किन कसरी ?, कहिले ?, कसले ? उत्तरको शुरुवात प्रश्नको मूल आशयको सम्बोधनबाट हुनु आवश्यक छ । यसपछि सो विषयको अवधारणात्मक पक्ष के हो यसको प्रयोग अन्तर्राष्ट्रिय रुपमा कसरी भैरहेको छ । के कस्ता नवीनतम अवधारणाहरु प्रयोग भएका छन् ?, नेपालमा कानूनी नीतिगत र संस्थागत व्यवस्था के कस्तो छ ? सकारात्मक पक्षहरु के के छन् ? र कमजोरीका क्षेत्रहरु कहां कहां छन ? र ती कमजोरी हटाउन के कस्ता सुधारहरुको आवश्यकता छ ? भन्ने विषयलाई समय सीमा भित्र रहदै समेटिनु आवश्यक हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको एउटा प्रश्नमा धेरै विषय संग जोडेर प्रश्नहरु सोधिएका हुन्छन् यसरी सोधिएका सबै विषयलाई उत्तरले सम्बोधन गर्नु पर्दछ र सकारात्मक र नकारात्मक सम्बन्ध वा प्रभावका क्षेत्रहरु पहिचान गरिदै जानु पर्दछ ।
के हो के होइन?
प्रतिस्पर्धात्मक परीक्षाको तयारी भनेको सूचना संकलन वा पाठ्यसामग्रीको संग्रह, विषयवस्तुको सतही ज्ञान मात्र होइन । यसमा मुख्यतया तीनवटासीपहरूको मिश्रण हुनु अत्यावश्यक छः विषयवस्तुको ठोस ज्ञान र यसको विषयगत अन्तरसम्बन्ध, प्रस्तुति वा लेखनकला र सकारात्मक व्यवहारोपयोगी दृष्टिकोण ।
घोकाइ कि विश्लेषण?
घोकाइले विषयवस्तु वारे जानकार हुन त सहयोग गर्दछ तर सवै चीज घोक्न र घोकेका सवै वसषय सम्झन सकिदैन। तथ्यांक लगायतका विषयहरु घोक्नु पर्ने हुन सक्दछ तर विषयहरुको अवधारगत र व्यवहारिक पक्षको विश्लेषणात्मक अध्ययनले पढाइलाई दिगो बनाउंदछ र यसले लेखनकला वा विश्लेषणकलालाई प्रभावकारी बनाइदिन्छ ।
लिखित परीक्षाको तयारी र लेखन शैलीबीच गहिरो अन्तरसम्बन्ध
लिखित परीक्षाको तयारी पढाइको तयारीसंगै शुरु हुनुपर्दछ । पढ्दा पाठ्यक्रमका सबै विषयको न्यूनतम जानकारी राख्ने र एक शीर्षकको अन्य शीर्षकसंग अन्तर सम्बन्ध खोज्ने गर्नु पर्दछ । पढाइ लेखाइ दुबैले आवश्यक सूचनाको अतिरिक्त नवीनता, सिर्जनशीलता र पूर्णताको माग गर्दछ । पढाइ इनपुट हो भने शीर्षकहरु र मुद्दाहरुबीच अन्तरसम्बन्ध कायम गर्ने विषय प्रोसेस हो लेखाइ आउटपुट हो । इनपुट र प्रोसेसबीच सामन्जस्यता हुन सके मात्र राम्रो आउटपुट निस्कन्छ । यी तीन प्रक्रियाको सवल समायोजनले राम्रो आउटकम अर्थात राम्रो अंक प्राप्तिमा सहयोग पुर्याउंदछ । विषयहरुको एक अर्का संगको अन्तरसम्बन्ध कायम गर्ने र पढेका कुरालाई विस्तार र संकुचन गर्न सक्ने गरि पढिएमा त्यसले लेखाइमा प्रभावकारिता ल्याउंछ ।
उत्तर बुँदागत कि विश्लेषणात्मक ? चित्र राख्ने नराख्ने ?
शुरुवात सधै अनुच्छेदबाट गर्ने, राम्रा पक्ष, नराम्रा पक्ष, नीतिगत र संरचनागत पक्षहरुलाई उप शीर्षक बनाइ बूंदागत रुपमा पनि लेख्न सकिन्छ । समस्याको पहिचान वा समाधानका उपायहरु पनि बूंदामा लेख्दा राम्रो देखिन्छ । तर यसरी बूंदामा लेखिएका विषयहरुलाई थप विश्लेषण गर्नु पर्ने हुन्छ, विश्लेषण अनुच्छेदमा कलात्मक र आकर्षक रुपमा प्रस्तुत गरिनु राम्रो हुन्छ ।
आवश्यकता अनुसार लेखिएका कुराको संक्षिप्त प्रस्तुति र आकर्षकताको लागि रेखा चित्रहरु राख्नु पनि राम्रो हुन्छ । निष्कर्ष वा प्रश्नले माग गरेको उत्तरको निचोड पनि अनुच्छेदमा आउनु राम्रो हुन्छ । यसरी उत्तरमा बूंदा र अनुच्छेद दुबै प्रयोगमा आउन सक्दछन् । सूचनाको सामान्य प्रस्तुती वूंदा मार्फत र त्यसको विश्लेषण अनुच्छेदमा आउनु पर्दछ । बूंदाको प्रस्तुतिले परीक्षार्थीहरुको ज्ञानको स्तर मापन गर्न सकिन्छ भने अनुच्छेदले सिर्जनशीलता । बूंदा लेखनले समयको बचत हुन्छ तर त्यसको प्रभावकारी प्रस्तुतिको लागि विश्लेषण आवश्यक हुन्छ । यी दुबै पक्षको समायोजनले हाम्रो प्रस्तुति आकर्षक हुने र समय व्यवस्थापनमा पनि सहयोग पुग्दछ ।
उत्तरको खण्ड विभाजन
यसमा कम्तीमा तीन खण्ड हुनु पर्दछ । पहिलो सोधिएको पक्षको अवधारणात्मक पक्ष, दोश्रो प्रश्न केन्द्रित रहेको पक्षको स्थिति विश्लेषण तथा समाधानका संभाव्य क्षेत्रहरु र तेश्रो आशावादिता वा सकारात्मक समाधान सहितको निचोड । पहिलो र तेश्रो खण्डका प्रस्तुति छोटो, आकर्षक र पत्यारिलो हुनु आवश्यक हुन्छ भने दोश्रो भागले पहिलो र तेश्रो भागकोबीचमा सामन्जस्यता र अन्तरसम्बन्ध स्थापित गरेको हुनु पर्दछ र सूचनाको व्यवस्थापन आकर्षक ढंगले गरिनु पर्दछ ।
समय व्यवस्थापनमा कौशलता
अधिकांश परीक्षार्थीहरुमा समय व्यवस्थापनको समस्या देखिने गर्दछ । यो कौशलताको बुध्दिमत्तापूर्वक व्यवस्थापन हुनु जरुरी छ । यसका लागि प्रश्नको अंकभार अनुसार समय विभाजन गर्ने, बढी अंकभार भएका प्रश्न एउटा निश्चित अवधिभित्र लेखिसक्ने पूर्व योजना, बढी जानेको विषयलाई निर्धारित समयावधी भन्दा बढी नलम्ब्याउने, कम जानेका विषयलाई छोड्ने वा कम लेख्ने नगरी एउटा निश्चित परिमाणमा लेख्ने जस्ता विषयहरु परीक्षामा सामेल हुनुपूर्व नै समय योजना बनाउने र परीक्षाहलमा प्रश्नपत्र पाइसकेपछि प्रश्नको आधारमा पूर्व निर्धारित समय योजनामा तत्कालै सामान्य परिमार्जन गरि तत्काल उत्तर लेख्ने कार्य गर्नु पर्दछ ।
अंकभारको अनुपातमा समय व्यवस्थापन
प्रश्न जति अंकभारको छ र सो अंकभारले कूल प्रश्नको अनुपातमा कति समय माग गर्दछ सोही परिधिको सामान्य सीमारेखा कायम हुने गरि उत्तरको लम्बाइ व्यवस्थापन हुनु आवश्यक हुन्छ । जानेका कुराको प्रस्तुती आकर्षक बनाउनुको अतिरिक्त समय सीमाको लक्ष्मण रेखाको पालना हुनु पनि आवश्यक पर्दछ । लेखनको गति कम हुने व्यक्तिले समय व्यवस्थापनमा बढी ध्यान दिनु आवश्यक छ । कुनै विषयलाई विस्तार र संकुचन गर्न सक्ने गरि पढिएमा अंकभारको अनुपातमा समय व्यवस्थापन गर्न सकिन्छ ।
अक्षर र शुध्दाशुध्दी
अक्षर सकभर राम्रो हुनु आवश्यक छ तर उत्तर पूर्ण वा सन्तोषजनक भएन भने राम्रो अक्षरलेमात्र काम गर्दैन । त्यस्तै उत्तर सही लेखिए पनि अक्षर नबुझिए त्यसको पनि कुनै अर्थ रहदैन । यसर्थ कम्तीमा पनि अरुले पढ्न सक्ने अक्षर हुनुपर्दछ र शुध्दाशुध्दीमा पनि ध्यान दिनु आवश्यक हुन्छ ।
आत्म विश्वास सफलताको महत्वपूर्ण सारथी
सबै तयारी पूरा भए पनि तयारीका हरक्षण आत्म विश्वासलेयुक्त र सफलताप्रति आशावादी हुनु आवश्यक छ । आशावादिताले उत्साह र सकारात्मकताको संचार गरिदिन्छ ।
(प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मी संगको कुराकानीमा आधारित)