बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

साउन ६, काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लागेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।