पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

असार ९, थानापति –  गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो । घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो । भिरबाट लडिने डरले मानिस गोठालो–घाँस–दाउरा र पानी लगाउन जाँदा एक्लै हिँड्दैनथेँ । अहिले पदमार्ग बनेपछि छहरे खोलामा बग्ने लौका आकारको सुन्दर झरनासम्म पुग्न ज्येष्ठ नागरिक र बालबालिकलाई पनि सहजता मिलेको छ । साथै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

काठमाडौँ, विदुर वा अन्य सहरका उकुसमुकुसलाई मेटाउने नजिकको सुन्दर प्राकृतिक गन्तव्यस्थलमा पूर्वाधार विकास भएपछि आक्कलझुक्कल गाउँ बस्ने र अरु बेला सहर बस्ने स्थानीयवासी पनि झरनाको सौन्दर्य र विकासको नयाँ उपक्रमलाई नजिकबाट नियाल्न झर्नामा पुग्न थालेका छन् ।

गाउँलेहरूको त्यो उत्साह शनिबारको पदमार्ग उद्घाटनको कार्यक्रममा देखिएको थियो । खेतीपातीका काम छाडेर स्थानीयवासी आफ्नै जीवनकालमा त्यो भिरपाखामा देखिएको आधुनिक विकासको निर्माता र साक्षी हुन पाएका छन् । त्यसैले होला, उनीहरु असारे पानीको पर्वाह नगरी झरना क्षेत्रमा जम्मा भएका देखिन्थे । नव प्रशिक्षित महिला बाजा समूहको पञ्चेबाजाको प्रस्तुतिले वारिपारि डाँडाकाँडा गुञ्जयमन त भएकै थियो । झरना र दहमा पुग्नेहरुले सुसेलीका भाका पनि हाल्न भ्याएका थिए ।

“त्यस्तो भिरमा के लगानी गरेका होलान् ? ” शिवपुरी गाउँपालिका–८ को माथिल्लो ढोडिनीबाट सानो छहरे र ठूलो छहरे (लौके) झरनासम्मको पदमार्ग निर्माणका लागि बजेट विनियोजन गर्दा नुवाकोटको जनप्रतिनिधिमाथि यस्ता प्रश्न नआएका होइनन् । गाउँपालिकाको कटिबद्धता, विभिन्न निकायको सहयोग र जनश्रमदानका कारण छोटो अवधिमै पदमार्गमा ढलान र आवश्यक सिँढीहरू निर्माण सम्पन्न भई यात्रीका लागि विश्रामस्थल पनि बनेपछि त्यस्ता प्रश्न आफैँ फिक्का सावित भएका छन् ।

शिवपुरी गाउँपालिको वडा नं ८ र ककनी गाउँपालिकाको वडा नं ५ को सिमानामा पर्ने ठूलो छहरे (लौके) झरना जान अहिले काठमाडौँ–टोखा छहरे सडकबाट निकै सहज भएको छ । काठमाडौँ–टोखा छहरे सडकको स्तरोन्नति र कालोपत्रपछि काठमाडौँ–विदुर र अन्य स्थानबाट उक्त सडक प्रयोगको क्रम बढेको छ । यस पर्यटकीयस्थलमा पूर्वाधार विकासपछि आन्तरिक र बाह्य पर्यटक वृद्धि हुने ठानिएको छ । वन र भिरको बीच भागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिब १० वर्षअघि नेपाल क्यानोनिङ सङ्घबाट क्यानेनिङ सञ्चालन गरिएपछि यसको पर्यटकीय पहिचान उजागर भएको थियो । अहिले पदमार्ग र विश्रामस्थलको निर्माणले झरनाप्रति थप आकर्षण बढेको छ ।

नवनिर्मित पदमार्ग र विश्रामस्थलको गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शनिबार उद्घाटन गरिरहँदा स्थानीय र आन्तरिक पर्यटकको एक प्रकारले लर्को लागेको थियो । सोही क्रममा ‘छहरे झरना पर्या–पर्यटन प्रवर्द्धन संस्था’को पनि उद्घाटन भएकाले यसप्रति स्थानीयवासीको चासो बढेको छ । काठमाडौँबाट माथिल्लो ढोडिनीसमको सडकमार्गको दूरी २९ किलोमिटर रहेको छ भने टोखा छहरे सडकबाट घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिन्छ । अहिले ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ । ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।