आगामी बजेट नयाँ ढङ्गबाट आउँछ -प्रधानमन्त्री दाहाल

बैशाख २६, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उनले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए। प्रधानमन्त्री दाहालले भने, “म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ ।”

आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउनुहुँदै उनले समाजवादको आधार तयार गर्ने बताउनुभयो । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिनुहुँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए। वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ ।

माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेकाले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने उनले स्पष्ट पारे । वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्दै पछिल्ला समयमा भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए ।

कार्यकर्ता भेटघाटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत, सिन्धुलीका सांसद लेखनाथ दाहाल, माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेल, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंलगायत सहभागी थिए।